चन्द्रपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।
हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सावारीसाधन धन्सार पुल नजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए । ट्यांकर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छभने ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढिरहेको छ । उक्त ग्यास ट्यांकर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको उनले जानकारी दिए ।