भद्रपुर- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका सात अर्ब ८४ करोड ४० लाख रुपैयाँ मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व संकलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी, कार्यालयको तथ्यांकअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिंकरबाट ३.३० प्रतिशत राजस्व संकलन भएको छ ।