- उम्मेदवारले बढीमा दुईवटा सवारीसाधन र सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न पाउने
- कुनै सूचना वा सामग्रीलाई एआईको प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन नहुने
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने
काठमाडौं- आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको शनिबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।
आचारसंहितामा कृत्रिम बुद्धिमता (एआई) प्रयोगको विषयदेखि हरित निर्वाचन(ग्रिन इलेक्सन)सम्मको विषय समेटिएका छन् । निर्वाचनलाई कम खर्चिलो र मर्यादित बनाउन आयोगले प्रचारप्रसारका शैलीमा व्यापक फेरबदल गरेको जनायो । नयाँ आचारसंहिताअनुसार अब उम्मेदवारले सवारीसाधन प्रयोग घटाउनुपर्ने छ । ‘उम्मेदवारले बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हल्का सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्ने,’ स्वीकृत आचारसंहितामा भनिएको छ ।
त्यसैगरी हेलिकप्टर प्रयोग गर्दा पनि मुख्य प्रचारकले मात्र प्रयोग गर्न पाउने उल्लेख गरिएको छ । ‘आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने,’ भनिएको छ, ‘राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणली बमोजिम बन्द सूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नुपर्ने ।’
मनोनयनमा जाँदा २५ जनामात्र
उम्मेदवारको मनोनयन दर्ता गर्न जाँदा वा घरदैलो गर्दा प्रस्तावक र समर्थकसहित बढीमा २५ जनामात्र सहभागी हुन पाउने छन् भने बाजागाजा र झाँकी प्रदर्शनमा पूर्ण रोक लगाइएको छ । ‘मनोनयनमा जाँदा वा प्रचारमा घरदैलो गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढी जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान नहुने,’ भनिएको छ ।
यस्तै, प्रचारका क्रममा बालबालिकाको प्रयोग गर्न नपाइने र कसैको निजी घर वा सार्वजनिकस्थलमा दलको झण्डा वा चिह्न राख्न र टाँस्नसमेत प्रतिबन्ध लगाइएको छ । त्यसैगरी विद्यालय वा विश्वविद्यालयमा पनि प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
यसपटक राजनीतिक दल वा उम्मेदवारको विर्नाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्नसमेत बन्देज गरिएको छ । त्यसैगरी बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।
एआईदेखि ‘ग्रिन इलेक्सन’का विषय
पछिल्लो दिन सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिलिजेन्स(एआई) प्रयोग गरी उम्मेदवार वा दलको विषयमा नकारात्मक प्रचार गर्ने शैली बढ्दो छ । यही विषयलाई ख्यालमा राख्दै आयोगले आचारसंहितामार्फत यो विषयमा सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । आचारसंहितामा यसबारे भनिएको छ, ‘सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण ‘हेटस्पिच’जस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने ।’
यसैगरी यस्ता विषयमा तोडमोड गरी पोस्ट, रिपोस्ट नगर्नसमेत सचेत गराएको छ । ‘कुनै प्रयोजनका लागि प्रकाशक वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन नहुने,’ आचारसंहितामा भनिएको छ ।
यसैगरी निर्वाचन प्रचारप्रसार गर्दा वातावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान दिन डिजिटलमा जोड दिन भनिएको छ । यसका लागि निर्वाचन प्रचार डिजिटल सामग्री बनाउन, सभा, जुलुस, घरदैलो कार्यक्रम सकिएपछि उम्मेदवारले प्रचारमा प्रयोग गरेको सामग्री संकलन गरी व्यववस्थापन गर्नसमेत आग्रह गरेको छ ।
त्यसैगरी निर्वाचनको समयमा मतदानस्थल वा मतगणनास्थलको वरपर क्यामरा, भिडियो क्यामरा, ड्रोन, मोबाइल वा अन्य उपकरणबाट अनुमति नलिई तस्बिर लिन, भिडियो खिच्ने कार्य गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
कसलाई लागू हुन्छ आचारसंहिता ?
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । चुनाव खर्चको पारदर्शितामासमेत जोड दिइएको छ । उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा चुनावमा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत खुलाउनुपर्ने व्यवस्था छ । २५ हजार रुपैयाँभन्दा बढी चन्दा बैंकमार्फत लिनसमेत आचारसंहितामा भनिएको छ ।
आचारसंहिता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्ने अधिकार अयोगसँग छ । आचारसंहिता कहिलेदेखि लागू हुने भन्ने निर्णय भने आयोगले गर्न बाँकी छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई लागू हुने छ ।
यस्तै, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आयोगद्वारा जारी आचारसंहिता लागू हुने छ ।
समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आजसम्म पेस गरिसक्नुपर्ने छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबार र आज सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएकामा केही राजनीतिक दलले आइतबार नै सूची बुझाएका छन् ।
आयोगका प्रवक्ता भट्टराईका अनुसार आइतबार तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेस गरिसकेका छन् । ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् । उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्द सूची पेस गरिएको हो । यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले बन्द सूची पेस गरेको हो ।
पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीबारे पुस १५ देखि २० गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको छ । त्यसपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
यसअघि १०० वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । यसरी दर्ता भएका राजनीतिक दलले मात्र आजसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउने छन् । यसपटक एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । ती मतदाताले समानुपातिक र प्रत्यक्षको दुईवटा मतपत्रमा मतदान गर्न पाउँछन् ।
राष्ट्रिय सभा उम्मेदवारले बढीमा साढे तीन लाख खर्च गर्न पाउने
निर्वाचन आयोगले राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ । आइतबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको हो ।
आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा तोकेको हो । ‘आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपदफा (१) बमोजिम रु. ३,५०,०००।- (तीन लाख पचास हजार) कायम गर्ने तथा उल्लिखित खर्च देहायका शीर्षकमा गर्न सकिने व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइन्छ,’ आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।