काठमाडौं। नेपाल तामाङ घेदुङको नेतृत्व चयनमा दलीयकरण अन्त्य हुनुपर्ने नागरिक समाजले सुझाव दिएका छन्। जेठ १–३ गतेसम्म स्वयम्भूमा हुन लागिएको दशौँ संघीय महाधिवेशनको सन्दर्भमा काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा आयोजित 'तामाङ समुदायको भावी नीति तथा नेतृत्व विषयक' छलफलमा नागरिक समाजले उक्त सुझाव दिएका हुन्।
शनिबार ताम्सालिङ नागरिक समाजले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी विज्ञ, बुद्धिजीवी, युवा तथा नेतृत्व तहका प्रतिनिधिले तामाङ घेदुङमा दलको एजेन्डा हाबी भएको बताएका थिए।
'दलको एजेन्डा हाबी हुनेरहेछ, खासमा हाम्रो एजेन्डा चाहि दललाई दिनुपर्नेमा उल्टो भयो,' घेदुङका अध्यक्ष मोहन गोले तामाङले आफ्नो १० वर्षे कार्यकालका उपलब्धि, चुनौती तथा उतारचढावबारे विस्तृत समीक्षा प्रस्तुत गर्दै भने, 'नीति नै बनाएर काम गरे पनि कार्यान्वयनको चरणमा जाँदा जटिल हुनेरहेछ।'

कार्यक्रममा युवा अभियन्ता वाङ्जु बाइबा तामाङले घेदुङमा दलीयकरण हाबी हुने गरेकोले त्यो अन्त्य गर्नुपर्ने बताए। महाधिवेशनमा दलगत रुपमा भागबण्डा हुँदा नेतृत्वमा आउनेहरु मौन बस्ने सहभागीले बताए। यसका लागि दलीय गन्ध घेदुङमा देखिन नहुने उनको सुझाव थियो।
कानुनी सल्लाहकारसमेत रहेका कुन्साङ योञ्जनले घेदुङको विधान संशोधन गरी कार्यकाल २ वर्षको बनाउनुपर्ने सुझाव दिए। यसअघि पदाधिकारीमात्र नेतृत्वमा जान पाउने व्यवस्था संशोधनकोसमेत माग उठेको छ।
कार्यक्रमका अध्यक्ष डा. मुक्तसिंह थोकरले तामाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक उन्नयनका लागि स्पष्ट नीति, दीर्घकालीन दृष्टिकोण र सक्षम नेतृत्व अपरिहार्य रहेको बताए। उनले आसन्न महाधिवेशनले समावेशी, पारदर्शी र दूरदर्शी नेतृत्व चयन गर्नुपर्नेमा विशेष जोड दिए।
घेदुङले युवा नेतृत्व तयार गर्ने कार्यक्रमको खाका अघि बढाउनुपर्ने र दलको नीति घेदुङमा लाद्न नपाइने व्यवस्था गर्न सुझाए। 'हाम्रो नीति राजनीतिक दलले लिने हो, राजनीतिक दलको नीति यहाँ लाद्ने हैन,' डा थोकरले भने।