काठमाडाैं - नेकपा एमालेका सचिव महेश बस्नेतले रवि लामिछाने–बालेन्द्र शाहको गठबन्धनप्रति कडा टिप्पणी गरेका छन् । नगरपालिका नै चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै बस्नेतले भनेका छन्, “बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ।” उनका अनुसार रास्वपाको राजनीतिक शैली स्पष्ट दिशा र भिजनबिनै सत्ताको भर्याङ चढ्ने मात्र भएकाले जनताको भरोसा घट्ने निश्चित छ।
बस्नेतले भदौ २४ गते भएको घटनामा नेपालको राज्य र लोकतन्त्रमाथि आक्रमण, भूराजनीतिक द्वन्द्व सृजना र अस्थिरता फैलाउने षडयन्त्रमा बालेन–रविको प्रत्यक्ष-अप्रत्यक्ष भूमिका देखिएको पनि बताएका छन्।
उनले नयाँ दल खोल्नु समस्या समाधान नभएको भन्दै, पुराना दललाई सुधार गर्दै दीर्घकालीन राजनीतिक सुधार गर्नुपर्ने जोड दिएका छन्। बस्नेतले चेतावनी दिएका छन्, “यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ। नत्र नयाँ बोतलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि फेरि उही भ्रमको सिकार भइरहने छौं।”
