राँझा- नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा सुविधासम्पन्न ‘सुशील कोराला स्मृति भवन’ निर्माण गरेको छ । कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरी उनकै नामबाट नामाकरण गरिएको हो ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलका अनुसार भवनको एउटा कोठालाई ‘सुशील कोइराला शयन कक्ष’ नाम दिइएको छ । स्व कोइरालाले नेपालगञ्जमा पार्टीको भवन निर्माण भयो भने त्यहीँ बसेर काम गर्ने इच्छा जाहेर गरेकाले उनको भावनाको उच्च सम्मान गर्दै शयन कक्ष निर्माण गरिएको उनले बताए ।
सभापति गौडेलले आफ्नो कार्यकालमा गरिएको बाचा र प्रतिबद्धता बमोजिम भवन निर्माण गरिएको स्मरण गराए । उनले छिट्टै भवनको प्राङ्गणमा सुशील कोइरालाको अर्धकदको शालिक निर्माण गरिने जानकारी दिए । भवन निर्माण समितिका संयोजक एवं पार्टीका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले भवन निर्माणका लागि हालसम्म एक करोड २० लाख ८३ हजार रुपैयाँ रकम खर्च भएको जानकारी दिए ।
उनका अनुसार भवन निर्माणका लागि विभिन्न क्षेत्र तथा व्यक्तिबाट अहिलेसम्म नगद, भौतिक तथा जिन्सी सामग्रीसहित एक करोड २५ लाख ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक तथा अपांगमैत्री उक्त भवनमा ‘लिप्ट’को व्यवस्था गरिएको संयोजक अधिकारीले जानकारी दिए ।