मोरङ- कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरी यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्न गर्ने उद्देश्यले बुधबारदेखि विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ ।
मोरङ उद्योग व्यापार सङ्घ विराटनगरको आयोजनामा बुधबारदेखि १७ गतेसम्म यहाँ हुने ‘एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
अन्तरराष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादन मेला आयोजनाले यस क्षेत्रका औद्योगिक उत्पादनको प्रवर्द्धनका साथै कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दिए । विराटनगर–१ पोखरियामा आयोजना हुने एक्स्पोमा रु २० करोडको व्यापार हुने अनुमान रहेको उनले बताए ।
एक्स्पोका संयोजक अमितकुमार सारडाले एक्स्पोमा २०० वटा ‘स्टल’ रहने बताए । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै भारत, बङ्गलादेश, पाकिस्तानमा उत्पादित वस्तुहरू समेत रहने उहाँले जानकारी दिए ।
पत्रकार सम्मेलनमा एक्स्पो सञ्चालनका लागि रु दुई करोड ५० लाख खर्च हुने अनुमान रहेको बताइयो । सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरिसकेको छ ।