- एमाले, नेकपा, रास्वपा, श्रम संस्कृतिलगायत दलहरू जनसमर्थन जुटाउने होडमा
- जुलुस, सभा, सम्मेलन, भेला र कोणसभामार्फत शक्ति प्रदर्शन गर्दै प्रभाव विस्तार गर्ने रणनीतिमा
- विघटित प्रतिनिधिसभाका मुख्य दल नेपाली कांग्रेस भने निर्वाचन केन्द्रित गतिविधिविहीन
- प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षपाती दलको रूपमा उभ्याउने प्रयत्नमा कांग्रेस
काठमाडौं- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू जनसमर्थन जुटाउन केन्द्रित भएका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसम्मले राजधानी र विभिन्न जिल्लामा शक्ति प्रदर्शन गर्दै आफ्नो प्रभाव र जनआधार देखाइरहेका छन् ।
दलहरूले जुलुस, सभा, भेला र कोणसभामार्फत कार्यकर्ता तथा समर्थकलाई सडकमा उतार्दै चुनावी माहोल पनि तताइरहेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचन, सुशासनको अभाव, बढ्दो महँगी र बेरोजगारीजस्ता विषयलाई मुख्य एजेण्डा बनाउँदै दलहरू एकअर्कासँग प्रतिस्पर्धाजस्तै गरी शक्ति प्रदर्शनमा उत्रिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले त शनिबार बागमती प्रदेशस्तरीय एकतासभा काठमाडौंमा गरेर श्रमिक, किसान र सीमान्तकृत समुदायका मुद्दा उठाउँदै जनसंघर्षको राजनीतिलाई पुनर्जीवित गर्ने प्रयास गरेको छ । यसबाहेक प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुनुपर्ने भन्दै नेकपाले खबरदारी गरेको छ । जेन-जी समूहको नाममा स्टण्ट नगर्न चेतावनी पनि दिएको छ । पार्टी संयोजक पुष्पकमल दाहालले शनिबार काठमाडौंमा आयोजित एकतासभामा भने, ‘फागुन २१ को निर्वाचन हुनुपर्छ, निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो । निर्वाचन बिथोल्ने काम कसैले नगरोस् ।’

प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै कांग्रेस र एमाले सर्वोच्च अदालत पुगिसकेका छन् । यी दुई मुख्य दल सर्वोच्च पुगेपछि निर्वाचन बिथोलिने हो कि भन्ने संशय छ । संयोजक दाहालले यिनै दुई दललाई लक्षित गर्दै निर्वाचन नबिथोल्न चेतावनी दिएका हुन् ।
यो प्रतिनिधिसभा निर्वाचन चाहने र ताजा जनादेश पक्षधरहरूको जनसमर्थन जुटाउने दाहाल रणनीतिको रूपमा अथ्र्याइन थालिएको छ । तर, उनले रास्वपा, श्रम संस्कृति पार्टीदेखि उज्यालो नेपाल पार्टीलाई जेन-जीको नाममा स्टण्ट नगर्न चेतावनी दिए । ‘जेन-जीका नाममा यहाँ स्टण्ट पनि गरिरहेको देखिन्छ । तर, जेन-जीको असल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो जसले नया पुस्ताका मुद्दा र दलबीचको वैचारिक प्रतिस्पर्धालाई पनि जोड दिएको छ,’ दाहालले भने ।
जेन-जीहरू गत २३ र २४ भदौमा भएको विद्रोहको मुख्य हिस्सेदार शक्ति हुन् । प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा दाहालले उनीहरूलाई नै आकर्षित गर्नेगरी नेकपा जेन-जीहरूको असली प्रतिनिधि भनेका हुन् । नेकपाले देशको सबै प्रदेशमा चुनावीसभा शैलीमा एकतासभा गरेको छ । ठूलो संख्यामा नेता कार्यकर्ता सडकमा उतारेर जनलहर देखाउने कोसिस गरेको छ । निर्वाचनपछि देशको पहिलो शक्ति बन्ने दाबी पनि नेकपाले गर्दै आएको छ ।
उसो त एमालेले २७ मंसिरमै ११औं महाधिवेशनको खुला सत्रलाई शक्ति प्रदर्शनको रूपमा उपयोग गर्यो । जेन-जी विद्रोहपछिको त्यो नै ठूलो भीड थियो । राजनीतिक विश्लेषक भीम भुर्तेलको विचारमा त्यो भीडले जेनजी-को नाममा देशमा भएको हिंसा र अराजकताविरुद्ध मतदाता, समर्थक, शुभेच्छुकलाई आश्वास्त पार्नेगरी राजनीतिक सञ्चारको काम गर्यो । जेन-जी विद्रोहपछि पुराना दलहरू सकिए भन्ने भाष्यलाई गलतमात्रै सावित गरेन, उत्थानशील भएको सन्देश पनि दियो ।
यसपछि एमालेले काठमाडौं केन्द्रित गर्दै आएको प्रदर्शनले पार्टीप्रतिको जनआकर्षण र प्रभाव देखाउने प्रयास गर्दै आएको छ । त्यस क्रममा प्रतिनिधिसभा पुनस्र्थापना, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहदको फुकुवालगायतको एजेण्डा एमालेले उठाउँदै आएको छ । शुक्रबार त जेन-जी विद्रोह दबाउन बल प्रयोग गराएको आरोपको सामना गर्दै आएका ओलीले सरकारले आफूलाई छोए देश ठप्प पार्ने चेतावनी दिए । ओलीको यो चेतावनी त्यस्तो बेला आयो, जतिबेला सरकारले जेन-जी विद्रोह जाँचबुझका लागि गठित कार्की आयोगले बयानका लागि पक्राउ नै गर्ने जनाएको छ । कारण, ओलीले बयान दिन जान इन्कार गर्दै आएका छन् ।
उनै ओली नेतृत्वको एमाले सडक मोर्चामा सरकारविरुद्ध सशक्त उभिएको छ । सुशीला कार्की नेतृत्वको नागरिक सरकारको प्रतिवाद गर्दै आएको छ । यता शुक्रबार थुनामुक्त रास्वपा सभापति रवि लामिछाने तीव्र गतिमा पार्टीको माहोल बनाउन खटिएका छन् । उनीविना पार्टी ‘प्यारालाइज्ड’ जस्तै थियो । पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री सुमना श्रेष्ठलगायत एउटा पंक्ति अलग भएको पृष्ठभूमिमा पार्टीलाई पुनःजागृत गर्न लामिछानेले सक्रियता बढाएका हुन् । उनले चितवन र काठमाडौंमा ठूलो भीड जम्मा पारे । रास्वपाप्रतिको जनविश्वास अझै नगुमेको सन्देश दिने प्रयास गरे । पार्टीको समर्थन आधार झनै विस्तार हुँदै गएको देखाउन चाहे ।
आफूमाथि लागेको सहकारी ठगीको आरोपलाई भीडमार्फत खारेज गर्ने कोसिस गरे । उनले अब देशभर पार्टीपंक्ति जुझारुपनका साथ परिचालन गर्ने बताएका छन् । त्यसका लागि माहोल बनाउन उनी आफैं देश दौडाहमा निस्किने बताए । नयाँ दल श्रम संस्कृति पार्टी पूर्वको कोशीहुँदै लुम्बिनीको बुटवल पुगेको छ । निर्वाचन माहोल बनाउँदै बुटवल पुगेको पार्टी सुदूरपश्चिमसम्मै प्रभाव फैलाउँदै जान लागेको छ । मुख्य वक्ता नै अध्यक्ष हर्क साम्पाङ छन् । उनको दलले पहिलोपटक राष्ट्रियस्तरमा आफ्नो उपस्थिति देखाउने प्रयास गरेको छ । श्रम, आत्मनिर्भरता र स्थानीय उत्पादनलाई मुख्य एजेण्डा बनाउँदै पार्टीले उल्लेखनीय सहभागितासहित कार्यक्रम आयोजना गर्दै आएको छ । यसलाई वैकल्पिक राजनीतिक धारको संकेतका रूपमा हेरिएको छ ।
तर, विघटित प्रतिनिधिसभाका मुख्य दल नेपाली कांग्रेस भने निर्वाचन केन्द्रित गतिविधिविहीन छ । जेन-जी विद्रोहपछि एकपटक केन्द्रीय समिति बैठक र कार्यसम्पादन समिति बैठकबाहेक पार्टीले केही गतिविधि गरेकै छैन । बरु, पछिल्ला दिनमा प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षपाती दलको रूपमा उभ्याउने प्रयत्न गरिरहेको छ । नेता प्रकाश स्नेही रसाइली पार्टीले चाँडै निर्वाचनकेन्द्रित कार्यक्रम अघि सार्ने बताउँछन् । तर, कहिले भन्ने उनले खुलाएनन् ।