काठमाडौं - संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक अभियानमा लुम्बिनीबाट उत्पीडित समुदायले सत्ता यात्राको उद्घोष गरेका छन् । संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुरमा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रमले उत्पीडित, बहिष्कृत र सीमान्तकृत समुदायको राजनीतिक सत्ता यात्रालाई नयाँ दिशा दिएको सहभागीहरूको निष्कर्ष रहेको छ । कार्यक्रममा पूर्वगृह राज्यमन्त्री, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य मो.रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
त्यस्तै बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन अम्बेडकर र नेपाल जनजागृति पार्टीका अध्यक्ष डाक्टर ध्रुवलाल निषाद विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम नन्दलाल सहनीको अध्यक्षतामा सम्पन्न भएको हो ।प्रमुख अतिथि मो. रिजवान अन्सारीले सम्बोधन गर्दै संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह ‘बस’ लाई उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीकका रूपमा प्रस्तुत गरे । उनले दलित, मुस्लिम, निषाद, पिछडावर्ग, अति पिछडा तथा आर्थिक रूपमा वञ्चित समुदायहरूलाई एकजुट भई राज्यसत्तामा आफ्नै प्रतिनिधित्व स्थापित गर्न ऐतिहासिक अवसर आएको बताए ।
“आजसम्म राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक रूपमा दमन, शोषण र बहिष्करणमा परेका समुदाय अब अरूका पछाडि होइन, आफ्नै नेतृत्वमा देश हाँक्ने समय आएको छ,” अन्सारीले भने, “संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह बसमा मतदान गरेर आफ्नै प्रधानमन्त्री, आफ्नै मुख्यमन्त्री र राज्यका सबै निकायमा उत्पीडित समुदायको निर्णायक उपस्थिति सुनिश्चित गरौँ।”
कार्यक्रममा विशिष्ट अतिथि बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन अम्बेडकरले परम्परागत दलहरूको आलोचना गर्दै भने, “एमाले, कांग्रेस र माओवादीले हामीलाई दलित बनाएको हो, भगवानले सबैलाई एउटै नासको बनाएर जन्माउनुभएको हो। त्यसैले आफ्नो अधिकारका लागि आफैँ लड्नुपर्छ र आफ्नो अधिकार सुरक्षित गर्न संसदमा आफ्नो प्रतिनिधित्व अनिवार्य छ।” उनले संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह बसछापमा निलो मत हाल्न सबै उत्पीडित समुदायलाई आग्रह गरे ।
त्यसैगरी नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष डा. ध्रुवलाल निषादले संघीय गणतान्त्रिक गठबन्धनले सदियौँदेखि राज्यले उपेक्षा गर्दै आएको निषाद समुदायसहित सम्पूर्ण उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व गर्ने दाबी गरे । उनले भने, “संघीय गणतान्त्रिक गठबन्धनले कसैले नामसमेत नलिने निषाद समुदायलाई संसदसम्म पु¥याउने आधार तयार गरेको छ। यहाँ उपस्थित निषाद समुदायका जनप्रतिनिधिहरूले मतदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ भन्ने आशा र अपेक्षा गर्दछु।”
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि संघीय गणतन्त्रलाई व्यवहारमा उतार्न, समावेशी शासन व्यवस्था स्थापना गर्न तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न गठबन्धनको भूमिका निर्णायक हुने धारणा व्यक्त गरेका थिए ।स्थानीय जनताको सहभागितासहित सम्पन्न कार्यक्रमले संघीय गणतान्त्रिक गठबन्धनको अभियानले देशव्यापी रूपमा नयाँ राजनीतिक तरङ्ग सिर्जना गरिरहेको स्पष्ट सन्देश दिएको छ ।