खोटाङ- कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्चालनगर्न लागिएको हो ।
प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीको वैज्ञानिक ढंगले संकलन, भण्डारण तथा प्रशोधन गर्न यो केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिए । खोटाङ उद्योग वाणिज्य संघको समन्वयमा बुधबार दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन् ।
उनले खोटाङमा स्थापना गर्न लागिएको यो केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, संकलन तथा प्रशोधन केन्द्र हुने जानकारी दिएका छन् । प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालनहुने यो केन्द्रले जडीबुटीको अव्यवस्थित संकलन र निर्यातलाई व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्ने गर्नेछ ।
दश स्थानीय तह रहेको खोटाङमा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीको अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । जिल्लामा स्थापना गर्न लागिएको जडीबुटी उत्पादन, संकलन तथा प्रशोधन केन्द्र कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र खोटाङ उद्योग वाणिज्य संघसँग सम्बद्ध कार्यदलले तयार पारेको विस्तृत योजना अनुसार सञ्चालनको तयारी गरिएको छ । प्रशोधन केन्द्र स्थापना भएपछि जडीबुटीको गुणस्तर परीक्षण, प्रशोधन, प्याकेजिङ तथा बजार व्यवस्थापन जिल्लामै गरिने जनाइएको छ ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा स्थानीय सरोकारवाला निकायले जडीबुटी क्षेत्रको सम्भावना र चुनौतीबारे आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले प्रदेश सरकारको यो योजनाले जिल्लाको दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए । जिल्लामा उत्पादित जडीबुटी अहिलेसम्म व्यवसायीले आफूखुशी संकलन गरेर लाने गरेका छन् । बहुमुल्य जडीबुटीको उचित मूल्य निर्धारण नहुँदा जिल्लाका किसान समस्यामा पर्दै आएका छन् ।
सडक सञ्जाल जोडिएसँगै जिल्लामा उत्पादित जडीबुटी निर्यात हुन थालेपछि व्यवसायिक खेती गर्ने किसानको सङ्ख्यासमेत बढ्दै गएको छ । जिल्लाका किसानले चिराइतो, पाखनभेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास र मजिटोलगायतका जडीबुटीको व्यवसायिक खेती गर्दै आएका छन् ।