वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब एक करोड रुपैयाँ अर्थात् १४ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।
जबकी कार्यालयले गत आवको पाँच महिनामा भने ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताए । “कार्यालयले मङ्सिर महिनामा २१ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशतअर्थात् २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।”
प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा संकलन भएको बताए । साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब नौ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यस्तै कात्तिक महिनामा रु १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा भने रु २० अर्ब ८० करोड राजस्व संकलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व संकलन भएको छ ।