दशरथचन्द- बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका-२ धौलाडी, भिमराडीमा जंगली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।
स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए । गए राति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उनले बताए।
अहिले सवडिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ । अगाडिको पट्टीको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहुँदा समस्या हुने गरेको छ ।