काठमाडौं - नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै उनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले यही मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेता उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा यही मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो । बैठकले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
यसैगरी बैठकले आगामी पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा उनको गृह जिल्ला मोरङमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ । विसं २०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनित भएका उपाध्याय विसं २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
विसं २०५६ मा उहाँ शिक्षा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो भने विसं २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनःस्थापित व्यवस्थापिका संसद्को सदस्य हुनुहुन्थ्यो । त्यसैगरी विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । शालिन र वौद्धिक व्यक्तित्वका रूपमा पार्टीमा परिचित स्व उपाध्याय विसं २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
राजनीतिक सङ्घर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन र निर्वासित जीवनसमेत बिताएका थिए । समाजसेवा र अध्ययनमा विशेष रुची राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनासमेत प्रकाशित भएका छन् । पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।