काठमाडाैं - नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ ।
बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता दिनभरि नै भरिभराउ देखिन्छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले तीन–चार दिनदेखि पार्टी कार्यालयमा भिडभाड बढेको बताए ।
“बिहान ८ बजेदेखि पार्टी कार्यालयमा नेता र प्रतिनिधिको चहलपहल हुन्छ”, उनले भने, “काठमाडौँ आएका प्रतिनिधिले एकापसमा पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा छलफल गर्ने गरेका छन् ।” उनले पार्टी कार्यालयमा महाधिवेशनमा अन्य कामसमेत भइरहेकाले देशभरिबाट आएका प्रतिनिधिले पार्टी कार्यालयको रौनक नै थपेको बताए ।
उनका अनुसार महाधिवेशनमा सहभागी हुने करिब ७५ प्रतिशतभन्दा बढी काठमाडौँ आइसक्नुभएको छ । महाधिवेशनमा करिब दुई हजार दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको तयारीको अन्तिम चरणमा पुगेको बताउनुभयो । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १३ समिति गठन गरेको छ ।