काठमाडाैं - नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ काठमाडौं–४ का लागि थापाको मात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो।
रोल्पा र धनकुटाबाट पनि थापाको नाम सिफारिस भए पनि उनले काठमाडौं–४ नै आफ्नो स्थायी निर्वाचन क्षेत्र भएको बताउँदै यहीँबाट उम्मेदवारी दिने पुष्टि गरेका छन्। लगातार यो क्षेत्रबाट विजयी हुँदै आएका थापा कांग्रेसभित्र लोकप्रिय नेता मानिन्छन्।
यसैबीच, समानुपातिक तर्फका लागि राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा को नाम पनि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ। यस निर्णयसँगै काठमाडौं–४ मा आगामी चुनावमा थापाको उम्मेदवारी लगभग पक्का भएको मानिएको छ।