काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताएका छन् ।
प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने बताए ।
सचिव अर्यालले पार्टीभित्र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको शैली चल्दै आएको बताउँदै निर्णय हुनुपूर्व छलफल हुने र निर्णय भएपछि त्यसको पालना हुनुपर्ने स्पष्ट गरे ।
गत भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनलगायत दस्तावेजमा छलफल भइसकेकाले अहिलेको राष्ट्रिय महाधिवेशनमा दस्तावेजमाथि छलफल नहुने उनले उल्लेख गरे । बन्दसत्रको सञ्चालन अध्यक्ष मण्डलको विधिबाट हुने उनको भनाइ छ । एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।