भैरहवा- भन्सार एजेण्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयमा आजदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ । महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेण्टको पेसा/व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तरराष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पार्ने दाबी गरेको हाे ।
महासङ्घले भन्सार ऐन, २०८२ रहेको केही व्यवस्थाका कारणले गर्दा एजेण्टलाई हतोत्साहित तुल्याएको दाबी गरेको छ । महासङ्घका अध्यक्ष प्राचीनकुमार थैवका अनुसार ऐनमा भन्सार एजेण्ट इजाजतपत्र प्राप्त व्यक्तिलाई हतोत्साहित पार्ने खालका दण्ड जरिवानाका प्रावधान समावेश गरिएको छ ।
ऐनका प्रावधानले भन्सार एजेण्टको पेसागत हकहित र सहज काम गर्ने वातावरणमा नकारात्मक असर पु¥याएको भन्दै उहाँले ऐनको मस्यौदा तयार गर्दादेखि नै भन्सार विभाग र अर्थ मन्त्रालयलाई पेसागत हकहित र व्यापार सहजीकरणबारे ध्यानाकर्षण गराउँदा मागलाई बेवास्ता गरिएको गुनासो गरे । थैवले जारी गरेको विज्ञप्तिमा सरकारले उत्पन्न परिस्थितिलाई समयमै समाधान गर्न पहल कदमी लिने अपेक्षा गरिएको जनाइएको छ ।
सरकारले उठाएका मागलाई तत्काल सम्बोधन नगरे, आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने महासङ्घको भनाइ छ । भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति असन्तुष्टि जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेण्टका कर्मचारी सोमबारदेखि नै आन्दोलित छन् ।
आन्दोलनको कारण दैनिक रु ३३ करोड राजस्व उठाउने दबाबमा रहेको भैरहवा भन्सार कार्यालयको राजस्व असुली प्रभावित बनेको छ । विद्युतीय माध्यमबाट विवरण घोषणा गर्दा प्राविधिक कारण वा मानवीय भूलबाट कागजात फरक पर्न सक्छ । सानो त्रुटिलाई जालसाजी वा बदनियत पूर्ण कार्य मानेर ठूलो जरिवाना लगाउनु अन्यायपूर्ण रहेको भन्सार एजेण्टको भनाइ छ ।
बदनियत पूर्ण ढङ्गले गरिने त्रुटि र साधारण त्रुटिबीच स्पष्ट विभेद गरिनुपर्ने उनीहरुको माग छ । “जानाजान राजस्व छल्ने उद्देश्यले गरिएको कार्यमा मात्र कडा कारबाही हुनुपर्छ, असावधानीले हुने त्रुटिमा ठूलो सजाय उचित होइन”, महासङ्घका अध्यक्ष थैवले भने ।