काठमाडौं - देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो ।
योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् । केही समय अघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए ।
तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ । महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए ।
खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दाखेरि भुलवश भएका गल्तीमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको आपत्ति रहेको छ । यसअघि सोमबार महासंघले वीरगञ्ज भन्सार कार्यालयमा पेनडाउन गरेको थियो । तर आफ्ना माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय काम रोक्नु परेको घिमिरे बताउँछन् ।