जनकपुरधाम- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाले राप्रपाको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको बताएका हुन् ।
शुक्रबार प्रकाशित सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेशसभा कार्यसञ्चालनसम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम विच्छालाई निलम्बन गरिएको उल्लेख छ ।
विच्छालाई पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको भन्दै राप्रपाले पार्टी विधान २०४८ (संशोधनसहित) अनुसार छ महिनासम्म साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भएको समेत जनाइएको छ ।