काठमाडौं - नेपाल आउने विदेशी नागरिकको सुरक्षाको सुनिश्चितता गर्न विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ‘एफएनएमआईएस’ सुरु गरिने भएको छ। जनवरी १ देखि यो सूचना प्रणाली देशैभर लागू गरिने भएको हो।
अध्यागमन विभागले बुधबार सरोकारवालासँग गरेको कार्यक्रममा नेपाल घुम्न आउने विदेशी नागरिकको ट्रयाकिङ सुरु गरिने जानकारी दिइएको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौंको सम्पूर्ण तारे होटलहरूमा ‘एफएनएमआईएस’ प्रणाली लागू गरिने जानकारी दिएका हुन्।
दोस्रो चरणमा फागुनको १७ देखि देशभरिका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी टुर्स एन्ड ट्राभल कम्पनी, मनी एक्सचेन्जर, तथा अन्य सेवाप्रदायक कम्पनी सबैमा अनिवार्य लागू गर्नुपर्ने छ। ७७ जिल्लामा नै स्थानीय प्रशासन तथा अनुगमन समितिमार्फत नियमित निगरानी गरिनेछ।विभागले त्यसबारे म्यानुअल तयार गरिसकेको छ। विदेशी नागरिकले होटलमा जानुअघि व्यक्तिगत विवरण इन्ट्री गर्नुपर्ने नियम छ।
एफएनएमआईएस’ सूचना प्रणालीमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकलाई सरकारले ट्रयाकिङ गर्ने लागेको हो। उनीहरूले नेपाल आउँदा नै सम्पूर्ण विवरणसहित अध्यागमनको फाराम भर्नुपर्ने हुन्छ। यही फाराममा नै नेपाल बसुन्जेल उक्त पर्यटक कहाँ जान्छ रु के गर्छ रु सम्पूर्ण डिटेल्स भनुपर्ने हुन्छ। पर्यटकको ट्रयाकिङ नहुँदा, पर्यटकहरू विभिन्न दुर्घटना, अपराध र विभिन्न विवादमा मुछिने गरेका घटना सार्वजनिक भएका छन् ।
विभागका अनुसार यस प्रणालीअनुसार, पर्यटकको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजीकरण, पर्यटन प्रवर्धन, अपराध नियन्त्रण गर्नका लागि सहज हुनेछ।विभागले नेपालमा आएर तारे होटलमा बस्ने विदेशी नागरिकहरूलाई एक एपमार्फत व्यक्तिगत विवरण भर्न लगाएर उनीहरूको डिजिटल ट्रयाकिङ गर्दै आएको हो।
अध्यागमन विभागमा भएको सरोकारवालासँगको बैठकमा होटल व्यवसायी ‘हान’कातर्फबाट महासचिव साजन शाक्यले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्ने बताएका छन्। अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार होटल एसोसिएसन नेपालसँगको समन्वयमा पहिलो चरणमा तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्न लागिएको हो।
पर्यटन व्यवसायी रामचन्द्र सेढाईले ट्राभल एजेन्सीहरूले सरकारको निर्णय लागू गर्ने तथा विदेशीको ट्रयाकिङमा सहयोग गर्ने बताए। नेपाल घुम्न आउने विदेशीको व्यक्तिगत सुरक्षाका लागि पनि सरकारले उसलाई निगरानीमा राख्नुपर्नेमा जोड दिए। कार्यक्रममा टुर गाइडहरूको संस्थाको प्रतिनिधि, राष्ट्र बैंकका प्रतिनिधि, पर्यटन बोर्ड, पर्यटन मन्त्रालय तथा पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो।
विभागका अनुसार, विदेशीको ट्रयाकिङ सिस्टमले विदेशीहरूको गतिविधि र बसोबास अभिलेख राख्ने, आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास छ। पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने विभागको अनुमान छ। विभाग प्रमुख रामचन्द्र तिवारीका अनुसार अध्यागमनले दिने डिजिटल एपमा भएको विवरण विदेशी बस्ने होटलले समेत स्क्यान गर्न सक्छ।
नेपाल घुम्न आउने विदेशीका लागि अध्यागमन विभागले डिपार्टमेन्ट अफ इमिग्रेसन भन्ने मोबाइल एपको प्रयोग गर्दै आएको छ। उक्त एपमा नेपाल प्रवेश गरेका विदेशीले आफ्नो सम्पूर्ण विवरण अपडेट गर्नुपर्छ। उक्त विदेशीले मोबाइल एप डाउनलोड गरिसकेपछि एक क्युआर कोर्ड स्थापना गर्छ। यही क्युआर कोर्डको माध्यमबाट विभागले उक्त विदेशीको डिजिटल ट्रयाकिङ गर्न सुरु गरेको छ।