काठमाडौं - नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।
केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ ।कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने भएको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने बताएका छन् ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने भएको छ । कांग्रेसको प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी दिए ।