काठमाडौं - नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको छ । नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)को आयोजना तथा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड र एसियाली उत्पादकत्व सङ्गठनको सहकार्यमा आजेदेखि सुरु भएको ‘वेलनेस टुरिजम’ प्रवर्द्धनसम्बन्धी कार्यक्रमका वक्ताले नेपालको पर्यटन प्रवर्द्धनमा वेलनेस टुरिजमको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले विश्वव्यापी रुपमा ‘वेलनेस टुरिजम’को विकास तीव्र गतिमा हुँदै गएको र यसको सम्भावना नेपालमा झन् धेरै रहेको बताए ।नेपालको पर्यटन क्षेत्रको विकासमा वेलनेस टुरिजमले ठूलो सहयोग पुग्ने उनको भनाइ छ । “सगरमाथा र बुद्ध जन्मेको नेपालमा योग, ध्यान मेडिटेसनमार्फत पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना रहेका छन्,” उनले भने । वेलनेस टुरिजमको विकाससँगै बेरोजगार रहेका युवा र महिलाले सजिलै रोजगार पाउने उनको भनाइ छ ।
नेपाल एुसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नेपालका ट्राभल्स एन्ड टुर कम्पनीले वेलनेस टुरिजमको प्याकेज बनाएर विश्वमाझ प्रवर्द्धन गर्न लाग्नुपर्ने बताए । उनले विश्वभर द्रुत गतिमा प्राकृतिक चिकित्सा पर्यटनको विकास हुँदै गएको बताए ।
उनले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मुलुक भएकाले यहाँ वेलनेस टुरिजमले सिङ्गो एसियालाई नै नेतृत्व गर्नसक्ने बताए । तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा वेलनेस पर्यटनको सम्भावना, यसको प्रयोग, बजारीकरण लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपालभित्रका ३४ ट्राभल, होटल, टुर, वेलनेस सेवा प्रदायक संस्थाले सहभागिता जनाएको नाट्टाको महासचिव युविका भण्डारीले जानकारी दिए। कार्यक्रममा वेलनेस पर्यटनको सम्भावना र विकासका लागि अष्ट्रेलियाका वेलनेस विज्ञ क्याथरिन ड्रोगा र शेरोन कोल्काले प्रशिक्षण दिने जनाइएको छ ।