काठमाडौं -नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईको आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिसम्बन्धी कार्यशाला–गोष्ठी सम्पन्न भएकाे छ । वित्तीय लगानी निवारण र गो-ए.एम.एल. रिपोर्टिङ प्रणाली सम्बन्धी पृष्ठपोषण आदान–प्रदानका लागि गैर–वित्तीय पेशाकर्मी तथा व्यवसायी, विभिन्न नियामक निकाय लगायत सम्बन्धित संघ–संस्थाहरुको सहभागितामा एक दिने उच्चस्तरीय कार्यशाला–गोष्ठी सम्पन्न भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा समन्वय समितिका संयोजक फणिन्द्र गौतम रहेका थिए । ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अतिथि वक्ताहरूद्वारा ग्रे–लिस्टबाट नेपाललाई बाहिर निकाल्न आवश्यक कानुनी, संस्थागत र कार्यान्वयन सम्बन्धी सुधारहरूमा जोड दिइयो । सबै नियामक तथा सूचक संस्थाले गो–ए.एम.एल. प्रणालीमा अनिवार्य रूपमा आबद्ध भई प्रभावकारी रिपोर्टिङ गर्नुपर्ने आवश्यकता यस गाेष्ठीले औंल्याएकाे छ ।
कार्यक्रममा कानुनी/नियामकीय व्यवस्था, सुपरीवेक्षण, कमजोर पक्ष तथा सुधार–प्रगति सम्बन्धी तीनवटा कार्यपत्र प्रस्तुत गरिएकाे छ। गोष्ठीको अध्यक्षता वित्तीय जानकारी इकाईका प्रमुख वासुदेव भट्टराईले गर्दै, कानुनको प्रभावकारी कार्यान्वयन, अन्तर–निकाय समन्वय र शंकास्पद कारोबार प्रतिवेदन पठाउने दायित्वबारे सबैलाई सक्रिय सहकार्यको लागि आग्रह गरे ।
उक्त गोष्ठीमा महासंघबाट कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा, सहकोषाध्यक्ष दिपक धनुके, कार्यसमिति सदस्य सूर्य बराल र कार्यालय सहायक मन्दिरा वि.कको सक्रिय सहभागिता रहेको थियो । छलफल सत्रको सहजीकरण नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपालले गरेका थिए ।साथै अर्थ मन्त्रालय, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरूको विशेष उपस्थिति थियो ।