ट्र्याक - १ मा अध्यक्ष नारायणकाजी श्रेष्ठ
ट्र्याक - २ मा अध्यक्ष भीम रावल
ट्र्याक - ३ मा नेकपा प्रवेश गराएर नेत्रविक्रम चन्द
- नेकपा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल र वामदेव गौतम एकैसाथ सक्रिय राजनीतिबाट अलग हुने
- जेन–जी विद्रोहपछि पार्टी नेतृत्वमा पुस्तान्तरणको सवाल जोडले उठ्दा राजनीतिबाट बहिगर्मनको दबाबमा शीर्ष नेताहरू
काठमाडौं- नेतृत्वमा पुस्तान्तरणको चर्को बहसबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा भनिँदै छ छ महिनापछि पुष्पकमल दाहाल पार्टी नेतृत्व हुने छैनन् । दाहाल स्वयं त्यसै भन्दैछन् । उनको भनाइ र गराइमा तालमेल मिले ३६ वर्षदेखिको पार्टी नेतृत्वमा दाहालको बिराम लाग्ने छ । उनले धपेडीपूर्ण राजनीतिबाट आराम लिनेछन् ।

उनीसँगै सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल र वामदेव गौतम पनि सक्रिय राजनीतिक जीवनबाट अलग हुनेछन् । उनीहरू क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो वरियताका नेताहरू हुन् । पञ्चायती शासनको कठोर अवधि मानिने ३० को दशकको प्रारम्भतिरदेखि नै राजनीतिमा सक्रिय यी नेताहरूले पार्टीसत्ता र राजकीय सत्ताभोग गरिसकेका छन् । उनीहरूमाथि जेन–जी विद्रोहपछि पार्टीको उच्च तहबाट बहिर्गमनको दबाब बढेको हो । त्यसअघि पनि कम्युनिस्ट पार्टीमा उत्तराधिकारीको विकास गर्ने विश्वव्यापी परम्परा रहेको भनेर केही नेताले उनीहरूको नेतृत्वमा विस्थापनको सवाल घुमाउरो शैलीमा उठाउँथे । यस्तो अवस्थामा अब छ महिनापछि दाहालसहितका नेकपाका शीर्षस्थ नेताहरू सक्रिय राजनीतिबाट अलग हुने बताइरहेका छन् । त्यसको लागि एकता महाधिवेशन गर्ने भनिएको छ ।
त्यसो भए नेकपा संयोजक दाहालका उत्तराधिकारी को हुन सक्छन् ? स्पष्ट भइसकेको छैन । तर, दाहालनिकट एक नेताले प्रभावसँग भने, ‘उहाँ नेतृत्वमा ट्र्याक–१, ट्र्याक २ र ट्र्याक ३ बारे मन्थनमा हुनुहुन्छ ।’ उनका अनुसार ट्र्याक–१ मा पार्टीको भावी नेतृत्व नारायणकाजी श्रेष्ठलाई बनाउनेबारे दाहाल सोचिरहेका छन् । श्रेष्ठ तत्कालीन नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष थिए । २०६५ मा नेकपा माओवादीसँग एकता केन्द्रका नेता श्रेष्ठले पार्टी एकता गरेका थिए । माओवादीमा वरिष्ठ उपाध्यक्ष भएपछि उनी बारम्बार दाहाललाई नेतृत्व छाड्न दबाव दिन्थे । तर, पार्टीमा उनको शक्ति दाहाललाई नेतृत्वविमुख गर्नेगरिको थिएन । उनै श्रेष्ठलाई नेकपाको भावी नेतृत्व बनाउन सकिने सम्भावनाबारे दाहाल र सहसंयोजक माधवकुमार नेपाल छलफलमा रहेको ती नेताको दाबी छ । श्रेष्ठ अध्यक्ष भए महासचिव भीम रावल हुन सक्ने ठानिएको छ । रावल मातृभूमि जागरण अभियानलाई नेकपामा समाहित गर्ने नेता हुन् । एमालेको दशौं महाधिवेशनमा उनले हालका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षमा चुनौती दिएका थिए । पार्टीमा ओलीको मनमौजीविरुद्ध धावा बोल्थे । बदलामा ओलीले उनलाई पार्टीबाटै निष्कासन गरिदिए । रावल सुदूरपश्चिमको उच्च तहका एमाले नेता थिए । त्यसपछि निष्प्रभावी देखिएको मातृभूमि जागरण अभियान चलाएका रावल हालै नेकपामा आएका हुन् ।
दाहालको ट्र्याक–२ योजना कार्यान्वयन भए रावल अध्यक्ष बन्ने बताइएको छ । त्यसो हुँदा महासचिव वर्षमान पुन हुने चर्चा छ । पुन माओवादी युद्धदेखि नै दाहालका विश्वासपात्रमध्येका एक हुन् । पार्टी संगठनमा उनी वर्चश्वशाली नेता मानिन्छन् । उनको अन्तरपार्टी सम्बन्ध राम्रो छ । उनी तत्कालीन माओवादीमा महासचिव हुन चाहन्थे । महासचिवको दाबेदार जनार्दन शर्मा पनि थिए । संगठन शक्तिमा अगाडि यी दुई नेताको दाबेदारीले अप्ठेरो परेपछि दाहालले माओवादी महासचिव देव गुरुङलाई बनाए, पुन र शर्मालाई उपमहासचिव । शर्मा हाल पार्टीबाट अलग भएका छन् ।
ट्र्याक–३ अन्तर्गतचाहिँ नेकपा (माओवादी)का नेता नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेकपा प्रवेश गराएर अध्यक्ष बनाउन सकिनेबारे पनि छलफल भइरहेको बुझिएको छ । उनी यसअघि एकता प्रक्रियामा आउन खोजिरहेका थिए । भनिन्छ, उनलाई तत्कालीन माओवादी नेताहरूले नै पार्टी प्रवेशमा रोकेका हुन् । उनले नेपाल कम्युनिस्ट पार्टीको नामबाट एकीकृत जनक्रान्ति भन्दै झन्डै दुई वर्ष हिंसात्मक राजनीतिको नेतृत्व गरे । २०७७ को फागुन चौथो साता भने ओली सरकारसँग घुँडा टेके । ३ बुँदे समझदारी गरेर शान्तिपूर्ण राजनीतिमा फर्किए । खसीको भनेर कुकुरको मासु बेच्ने प्रणालीको रूपमा संसदीय प्रणालीप्रति कडा आलोचना गर्ने उनी यसपटक प्रतिनिधिसभा चुनावमा सहभागी हुने भएका छन् । उनै विप्लवलाई पार्टीमा भित्र्याएर अध्यक्ष बनाउन सकिने तेस्रो विकल्पबारे पनि दाहालले निकट नेताहरूले भन्ने गरेका छन् ।