काठमाडौं– प्रतिनिधि सभाका निर्वाचन नजिकिएको छ । नयाँ र पुराना दलले धमाधम निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने क्रम जारी छ । फागुन २१ गते मतदानमा सहभागी हुन धेरैले मतदाता नामावलीमा नामसमेत दर्ता गराइसके ।
निर्वाचनमा भिड्नुपर्ने जेन–जी र एमाले भने सडकमै भिड्न थालेको छ । आइतबार बिहान विराटनगरमा एमाले नेता महेश बस्नेतलाई जेन–जी युवाहरुले रातो मसी प्रहार गरे । सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा भाग लिन हिँडेका बस्नेतलाई विराटनगरमा युवाहरुले मसी छ्यापेका थिए ।
मसी छ्याप्ने सञ्जोग गौतम र अर्पित कुवँरलाई प्रहरीले बिहानै नियन्त्रण्मा लिएको थियो । दुवै जना आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडालले जानकारी दिइन् । शुक्रबार एमालेले नेसनल भोलिन्टियर्स फोर्स गठन गरेर जेन–जीसँग सडकमै भिड्ने चुनौती दिएका थिए । ‘हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने सडकबाट, जहाँबाट लड्न भिड्न पनि तयार छौं,’ फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठले भनेका थिए ।
बिहीबार एमाले महासचिव शंकर पोखरेल र नेता बस्नेत सिमरा जाने क्रममा एमालेका युवा र जेन–जीबीच दंगा भएपछि दुई समूह सडकमै देखिन थालेको हो । यो विवाद मिलाउन भन्दै हामी नेपालका संयोजक सुदन गुरुङ बारा पुगेका थिए । उनी बारा पुगेसँगै बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ हेडक्वाटर तानिए ।
आइतबार बस्नेतमाथि आक्रामणपछि फोर्सले जेनजी अगुवाहरू सुधन र सम्राट उपाध्याय लगायतलाई कारबाही नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ । विज्ञप्ति प्रकाशित गरी फोर्सले नेकपा एमालेका नेताहरूमाथि आक्रमण र धम्की दिने कार्य भइरहेको भन्दै यसतो चेतावनी दिएको हो ।
विज्ञप्तिमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरेको आरोप लगाइएको छ । ‘सरकारले घटनाको संवेदनशीलता नबुझ्ने र अपराधीलाई उन्मुक्ति दिने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले नै लिनुपर्नेछ,’ फोर्सले भनेको छ ।
विज्ञप्तिमा अराजक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही नगरे परिस्थितिजन्य प्रतिरोधमा उत्रने श्रेष्ठले चेतावनी दिएका छन् । आइतबार विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि गाडीमा बेलुन प्रहार भएको विज्ञप्तिमा जनाइएको छ ।
उक्त घटनामा नेपाल विद्यार्थी संघ (शेखर समूह) मोरङ क्याम्पस इकाई सभापति गौतम रहेको भोलेन्टियर्स फोर्सले जनाएको छ ।सुधनलगायतको समूहले एमाले नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठको जितपुर सिमरा–४, औराहास्थित घरमा पुगेर परिवारका सदस्य र कामदारलाई धम्काएको प्रति पनि फोर्सले आपत्ति जनाएको छ ।