काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालत उपस्थित गराइँदै छ ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको पेशी भएको र शुक्रबार २४ घण्टामा उपस्थित गराउन आदेश गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारणसहित उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट मध्यरातमा पक्राउ गरेको थियो ।