काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।
लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता हुनु स्वाभाविक हो भन्ँदै उनले सिमाराको घटनालाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको बताएका छन् । “राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु”, संयोजक दाहालद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
यसैगरी घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सम्बद्ध सबै पक्षसँग उनले आग्रह गरेका छन् । मुलुकमा विकसित घटनाक्रम र परिस्थितिलाई सामान्य बनाउने सन्दर्भमा आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न स्थानीय पार्टी समितिलाई संयोजक दाहालले निर्देशन दिएका छन् ।