दारसाना - हाल इस्लामवादी शक्तिहरू पुनः राजनीतिक रूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बंगलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ ।
सरकारी स्वामित्वको ‘क्यारो एन्ड कम्पनी’ नामक यो उद्योगले पछिल्लो आर्थिक वर्षमा अभूतपूर्व नाफा कमाएको छ । यसलाई देशको कठोर मदिरा नीति र सामाजिक निषेधबीचको आश्चर्यजनक उपलब्धि मानिएको छ ।
विश्वको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको मुस्लिम राष्ट्र बंगलादेशमा मदिरा उत्पादन र बिक्री कडा रूपमा नियमनमा राखिएको छ । करिब १७ करोड जनसङ्ख्या भएको देशमा विशाल बहुमतले यसका उत्पादन किन्न वा उपभोग गर्न पाउँदैनन् । यद्यपि, ८७ वर्षअघि ब्रिटिस शासनकालमा स्थापना भएको क्यारो एन्ड कम्पनीले आर्थिक वर्ष २०२४–२५ मा एक करोड अमेरिकी डलर बराबरको नाफा कमाएको र कर तिरेको कम्पनीका प्रबन्ध निर्देशक रबिक हसनले बताए ।
“कम्पनीको इतिहासमै यो सबैभन्दा बढी नाफा हो”, हसनले भन्नुभयो, “हामीले आगामी वर्षहरूमा अझ वृद्धि हुने अपेक्षा राखिरहेका छौँ ।” बंगलादेश पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरताबाट गुज्रिएको छ । सन् २०२४ को अगस्टमा भएको जनआन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । मानव अधिकार उल्लङ्घनको आरोपमा आलोचना खेप्दै १५ वर्ष शासन गरेकी हसिनाले इस्लामवादी समूहहरूप्रति कडा नीति लिइरहेका थिए । उनी भारततर्फ पलायन गरेपछि देशभित्रका इस्लामवादी शक्तिहरू पुनः दृढ बनेका छन् ।
इस्लाममा निषेधित रक्सीलाई तिनले खासै निशाना नबनाए पनि संगीत तथा नाटक उत्सव, महिला फुटबल प्रतियोगिता र चंगा उडाउने पर्व जस्ता ‘इस्लामविरोधी’ ठानेका सांस्कृतिक गतिविधिहरूमाथि प्रतिबन्धको माग गर्न थालेका छन् । यस्तै अवस्थामा अन्तरिम सरकारले अब देशलाई सन् २०२६ फेब्रुअरीमा तय गरिएको आम निर्वाचनतर्फ अघि बढाइरहेको छ ।
दारसाना सीमावर्ती औद्योगिक क्षेत्रमा अवस्थित क्यारोको विशाल कारखानामा लगातार गुन्जिने मेसिनहरूको आवाजबीच बोतलहरू भरिँदै गर्छन् । कम्पनीका प्रमुख उत्पादनहरू ‘इम्पेरियल ह्विस्की’ र ‘सारिना भोड्का’ हुन्, जसलाई नेदरल्यान्ड्सबाट आयात गरिएको स्वादका साथ उखुबाट डिस्टिल्ड गरिन्छ ।
“हामी कसैलाई पनि पिउन प्रोत्साहित गर्दैनौँ”, हसनले स्पष्ट पार्दै थपे , “हामीले उत्पादन तिनीहरूलाई मात्र बेच्ने गर्छौं, जो पहिले नै पिउँछन् ।” बंगलादेशमा मादक पदार्थ खरिद गर्न सरकारी अनुमति अनिवार्य छ । मादक पदार्थ खरिद गर्न २१ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई मात्र दिइन्छ र प्रायः गैर–मुस्लिमहरूलाई मात्र उपलब्ध हुन्छ । अनुमतिपत्र लिन चिकित्सकीय सिफारिस आवश्यक हुन्छ । नार्कोटिक्स कन्ट्रोल विभागका महानिर्देशक हसन मारुफका अनुसार मदिरा निषेधित छ, तर केही समुदायका लागि अपवादको व्यवस्था गरिएको छ ।
त्यस्ता समुदायमा देशका चिया बगानमा कार्यरत विदेशी र स्थानीय कामदारहरू पर्छन् । क्यारोको सस्तो मदिरा त्यहाँका करिब एक लाख ५० हजार मुख्यतया हिन्दू कामदारहरूबीच लोकप्रिय छ । बंगलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर–मुस्लिम (मुख्यतया हिन्दू) रहेको अनुमान छ । यस वर्ष कम्पनीको चिनी विभागले घाटा बेहोरे पनि त्यसका मिलहरूले मल, भिनेगर र औद्योगिक मदिरा उत्पादन गरेका छन् । जमुना समूहको स्वामित्वमा रहेको देशको एक मात्र बियर उत्पादन गर्ने ‘हन्टर ब्रुअरी’ सँगै क्यारोले वैधानिक मदिराको प्रमुख स्रोत उपलब्ध गराइरहेको छ ।
अवैध मुनशाइन उत्पादन र आयातित मदिरामा हुने खतरनाक मिलावटको समस्याले ग्रस्त देशमा यी उत्पादनहरू सुरक्षित विकल्पका रूपमा स्थापित भएका छन् । ४२ वर्षीय माछा व्यापारी प्रिन्स मामुनले आफू दुई दशकदेखि क्यारोका उत्पादन सेवन गर्दै आएको बताए । “यो आयातित ब्रान्डभन्दा सस्तो र भरपर्दो छ”, उनले भने । महिनामा करिब २० दिन पिउने मामुनसँग आधिकारिक अनुमति पनि छ । “म क्यारोका उत्पादनहरू कुनै शङ्का बिना पिउँछु”, उनले आत्मविश्वासपूर्वक भने ।
त्यस्तै, बोटलिङ युनिटमा कार्यरत ३८ वर्षीय शाह आलम नामका कर्मचारी कट्टर मुस्लिम हुनुहुन्छ तर कहिल्यै मदिरा नपिएको बताए । तर उहाँले डिस्टिलरीले स्थानीय समुदायमा रोजगारी, शिक्षा र सामाजिक सहयोगमार्फत पु¥याएको योगदानको प्रशंसा गरे ।“म आफैँ केही पिउँदिनँ, न त बिक्रीमा संलग्न छु”, आलमले भने, “तर म गर्वका साथ भन्छु—यहाँ मैले गरिरहेको काम मेरो इमानदार पेशा हो ।”
यसरी, धार्मिक र सामाजिक प्रतिबन्धबीच पनि क्यारो एन्ड कम्पनीको सफलताले बंगलादेशको अर्थतन्त्रमा अद्भुत विरोधाभास र अनपेक्षित उपलब्धिको उदाहरण प्रस्तुत गरेको छ।