काठमाडौं - संसारकै सर्वोच्च शिखर सगरमाथामा यसपटक एउटा विशेष चंगा पुगेको छ । गाजाका बालबालिकाले आफ्नै हातले लेखेका सपना र सन्देश बोकेको “द काइट अफ ड्रीम्स” अर्थात् “सपनाको चंगा ” मे २१, २०२६ मा बिहान १०ः४८ बजे सगरमाथाको शिखरमा पुगेको हो ।
जोर्डन–प्यालेस्टिनी पर्वतारोही मुस्तफा सलामेह (Mostafa Salameh) र इटालियन फिल्म निर्माता लियाेनाडर्दाे एभेजानाे(Leonardo Avezzano)ले उक्त चंगा शिखरसम्म पुर्याएका हुन् । यो अभियान “राइजिङ ड्रीम्स” अन्तर्गत गाजाका बालबालिकाको आवाज विश्वसम्म पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको थियो ।
गाजामा अहिले लाखौं बालबालिका युद्ध, भोकमरी, विस्थापन र मानसिक पीडाबीच बाँचिरहेका छन् । यही पीडालाई संसारले नबिर्सियोस् भन्ने सन्देशसहित सलामेहले चंगा सगरमाथाको चुचुरोसम्म पुर्याएका हुन् ।
प्यालेस्टिनी शरणार्थी परिवारमा कुवेतमा जन्मिएका सलामेहले सन् २००८ मा सगरमाथा आरोहण गर्ने पहिलो प्यालेस्टिनी–जोर्डनियनको इतिहास बनाएका थिए । उनी सातै महादेशका उच्च शिखर आरोहण गरी उत्तर र दक्षिण ध्रुव दुवैमा पुग्ने “एक्सप्लोरर्स ग्रान्ड स्लाम” पूरा गर्ने विश्वका २० व्यक्तिमध्ये एक हुन् ।
मानवीय सेवामा सक्रिय सलामेहले विभिन्न अभियानमार्फत ८ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग संकलन गरिसकेका छन् । उनलाई जोर्डनका राजा अब्बदुल्लाह दाेस्राे (Abdullah II of Jordan) ले ‘नाइटहुड’ सम्मानसमेत प्रदान गरेका थिए।
सगरमाथा आरोहणपछि काठमाडौंमा आयोजित कार्यक्रममा गाजाका बालबालिका जुममार्फत प्रत्यक्ष सहभागी भएका थिए । उनीहरूले डाक्टर, इन्जिनियर, शिक्षक र फुटबल खेलाडी बन्ने जस्ता आफ्ना सपना सुनाएका थिए ।
यस अभियानले एउटा गहिरो सन्देश दिएको छ- युद्धले घर भत्काउन सक्छ, जीवन उजाड्न सक्छ, तर बालबालिकाका सपना मेटाउन सक्दैन ।