काठमाडौं- असोज २८ देखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सकिएको छैन । मंगलबार १३ जनाले बोलेपछि बैठक आज (बुधबार)सम्मका लागि स्थगित गरियो । मंगलबारसम्म बोलेका नेताहरुले व्यक्तिपिच्छे धारणा राखेका छन् । १६७ सदस्यीय केन्द्रीय सदस्यमा १३३ जनाले आफ्नो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरुको धारणा सुन्दा एजेण्डाबाट निकै पर बरालिएको छ । कांग्रेसले खासमा १५औं महाधिवेशनको मिति तोक्न यो बैठक आयोजना गरेको हो । तर केन्द्रीय समितिले सुरुमा यो विषय एजेण्डा नै बनाउन सकेन ।
सभापति शेरबहादुर देउवाले असोज २८ गते सम्बोधन गरेर कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए । त्यसपछि असोज ३१ देखि बैठक सुरु भयो । बीचमा तिहार र छठका कारण केही समय बैठक अवरुद्ध भयो ।बैठकको सुरुमा कांग्रेस नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने प्रश्नमै अल्झियो । किनकि, विधानअनुसार आउँदो मंसिरमा कांग्रेसको १५औं महाधिवेशन गर्नैपर्छ । तर क्रियाशील सदस्यता विवाद अझै टुंगो लागेको छैन । कांग्रेसमा महाधिवेशन गर्न क्रियाशील सदस्यता सुल्झिनुपर्छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजकमा महामन्त्री गगन थापा छन् ।
- महाधिवेशनको कार्यतालिका ल्याउने विषय अन्योलमा
- संसद् पुनस्र्थापनासम्बन्धी मागको विषय अन्योलमै
- निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा पनि अन्योल
- केन्द्रीय समितिमा सदस्यहरुको व्यक्तिपिच्छेको धारणा
सभापति शेरबहादुर देउवापक्षका नेताहरुले सहयोग नगरेका कारण क्रियाशील सदस्यता विवाद सल्टिन नसकेको थापाको आरोप छ । ‘महामन्त्री र समिति सदस्यले गरेनन् भनेर हुन्छ ? ३६ पटक ताकेता गरिएको छ,’ थापानिकट केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले मंगलबारको बैठकमा प्रश्न गरे । करिब नौ लाख क्रियाशील सदस्यमा छ लाखले नवीकरण गरिसकेको उनको दाबी छ ।
नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा लामो बहस गरेको कांग्रेसले केन्द्रीय समितिमा महाधिवेशन निर्वाचन अघि कि निर्वाचनपछि विषयमा पनि लामै छलफल ग¥यो । संस्थापनपक्षका अधिकांश नेताहरु निर्वाचनपछि महाधिवेशन गर्ने लाइनमा उभिए भने महामन्त्री थापा र संस्थानपइतरका नेता डा. शेखर कोइरालालगायतका नेताहरु निर्वाचनअघि नै नेतृत्व छानेर जानुपर्ने पक्षमा उभिए ।
पछिल्लो समय भने देउवा समूहकै नेताहरु निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा बोल्न थालेका छन् । निर्वाचनअघि महाधिवेशन गर्दा चुनावी माहोल बन्ने उल्लेख गर्दै देउवानिकट नेता मीन विश्वकर्माले तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गरे । ‘अधिवेशनका लागि उपयुक्त मितिमा सहमति गरौं र तत्काल कार्यतालिका सार्वजनिक गरौं,’ विश्वकर्माले भने ।
चर्को दबाबसँगै कांग्रेसले निर्वाचनअघि नै महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेको छ । मंगलबार पार्टी सभापति देउवानिकट नेताहरुलेसमेत १५औं महाधिवेशन कार्यतालिका निर्वाचन अगाडि नै ल्याउनुपर्ने माग गरेसँगै संस्थापनपक्ष दबाबमा परेका छन् ।देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गरेको अवस्थामा यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । निर्वाचन नजिकिँदै गएकोले अब कांग्रेस महाधिवेशन कहिले गर्ने भन्ने विषयमा अल्झेर बस्न नहुने कार्कीको भनाइ थियो । यद्यपि, विशेष महाधिवेशनको मागलाई नीति महाधिवेशन गरेर सम्बोधन गर्न सकिनेसमेत उनको मत थियो ।
यसै विषयलाई देखाउँदै अहिले केही नेताहरु भने विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको विषयमा सनाखत हुनुपर्ने मागतिर लागेका छन् । यसरी कांग्रेस आफ्नो चरित्र सुधार र महाधिवेशन कहिले गर्ने भन्नेतिर एकत्रित नभई भद्रगोल धारणा राख्न थालेको छ । यही बीचमा संसद् पुनस्र्थापना गर्नुपर्ने माग उठेको र केही पूर्वसांसदले अदालत जान हस्ताक्षरसमेत गर्न थालेका छन् । यो विषय पनि केन्द्रीय समितिमा विवादमा तानिएको छ ।
कांग्रेस संस्थापनइतरका नेता डा. कोइरालाले पुस मसान्तसम्ममा १५औं महाधिवेशन गर्न सकिने बताएका छन् । ‘मंसिरमा महाधिवेशन हुन सक्दैन । पुस मसान्तसम्म १५औं महाधिवेशन गरौं । नयाँ नेतृत्वले चुनाव हाँक्नुपर्छ,’ मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा कोइरालाले भने । हस्ताक्षर सनाखत गर्न थाले कांग्रेस अप्ठ्यारोमा फस्ने कोइरालाको भनाइ थियो । ‘हस्ताक्षर रूजु गर्ने क्रममा वादविवाद हुन्छ र त्यसले कांग्रेसलाई अप्ठ्यारोमा लैजान सक्छ,’ कोइरालाले भने ।
निर्णय गर्न देउवाको खोजी
कार्यवाहक सभापति पूर्णबहादुर खड्का सबै पक्षलाई मिलाउन लागिपरेका छन् । तर यो भद्रगोल नमिल्ने देखिएपछि शेरबहादुर देउवानिकट नेताहरुले सभापति देउवाको खोजी गरेका हुन् । आज (बुधबार) वा भोलि बिहीबार केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने तयारीमा खड्का लागेका छन् ।
तर अहिले तत्काल निर्णय नगर्न विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रवक्ता डा. प्रकाशशरण महतलगायतले आग्रह गरेका छन् । उनीहरुले देउवा शुक्रबार नै काठमाडौं आइपुग्ने तालिका रहेको भन्दै निर्णय लम्ब्याउन आग्रह गरेका हुन् । ‘सभापति शुक्रबार उड्ने भन्ने छ । त्यसैले केही समय निर्णय होल्ड गरौं,’ कार्यवाहक सभापतिसँग उनीहरुले भनेका थिए ।
देउवा आइपुगेपछि महाधिवेशन पुसको मसान्तमा आयोजना गर्ने गरी निर्णय गर्न उनीहरुले सुझाएका छन् । फागुन २१ गते निर्वाचन तोकिएकोले पुसको मसान्तमा महाधिवेशन भएमा उपयुक्त हुने धारणा डा. शेखरलेसमेत राखेका छन् । देउवाको सचिवालयले भने उनी फर्कने टुंगो नभएको जानकारी दिएको छ । ‘उहाँ महिना दिनका लागि जानुभएको हो । कात्तिक १० गतेमात्र जानुभएको हो । अहिले फर्कने कुनै कार्यतालिका छैन,’ देउवाको सचिवालयले भन्यो ।