चितवन– बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना हुँदै छ । यस वर्ष आनुवंशिक (जेनेटिक) विधिबाट गर्ने तयारी गरिएको हाे।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चार/चार वर्षमा गर्दै आएको गैँडा गणना गत वर्ष रोकिएको थियो । यस वर्ष बाघ गणनासमेत गर्ने तयारी छ । बाघ गणनापछि गैँडा गणनाको तयारी गरेको विभागले विगतको भन्दा फरक विधि प्रयोग गरेर गणना गर्ने तयारी गरेको हो । विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरिएको छ ।
समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले केही दिनमा नै प्रोटोकल तयार गरी बैठक बसेर छलफल गरिने बताए । यो विधिबाट गैँडा गणना गर्दा वैज्ञानिक र दीर्घकालीन दृष्टिले उत्तम हुने उनको भनाइ छ । नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ । भारतमा केही महिनाअघि हात्तीको यही विधिबाट गणना गरिएको जनाउँदै उहाँले विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने बताए। विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो । यो विधिबाट गणना गर्दा निकै खर्चिलो हुने र जोखिमपूर्ण हुने गरेको छ ।

आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा रु तीन करोड हाराहारी खर्च भएको थियो । सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए । यसरी गणना गर्दा तीन साता समय लाग्ने गर्दछ । त्यसमा ठूलो सङ्ख्यामा हात्ती लगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ । आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताए । अन्तिम टुङ्गो लगाउन बाँकी रहेको भन्दै उनले आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) संकलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिंक पहिचान गर्ने बताए ।
आउँदो पुसमा बाघ गणना गर्ने तयारी गरिएको छ । बाघ रहेका पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागेको छ ।
बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । एकसिङ्गे गैँडा गणना चैतमा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ ।
गैँडा चितवन राष्ट्रिय निकुञ्ज , पर्सा राष्ट्रिय निकुञ्ज , शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक छ ।
सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो ।