काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको हाे ।
निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८-१९ पुस तोकिएको छ । रास्वपाले उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी तोकेको थियो ।सहमहामन्त्री आचार्यले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि कानुनी प्रावधान सहित पार्टीले मापदण्डहरू तय गरेको जानकारी गराए ।उम्मेदवार हुनका लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको सहमहामन्त्री आचार्यले जानकारी गराए ।
समानुपातिकको बन्द सूचीमा परेको तर पछि दलले प्राप्त गरेको मतको आधारमा कुनै व्यक्ति छनोट हुन नसक्ने अवस्था भयो भने पार्टीलाई बुझाएको रकम फिर्ता भने नहुने रास्वपाले जनाएको छ ।
रास्वपाले अघिल्लो चुनावमा प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक उम्मेदवार हुन नपाउने निर्णय लिएको छ ।उम्मेदवार हुन इच्छुकले अनलाइन वा भौतिक रूपमा फर्म भरेर आवेदन पेस गर्न सकिने रास्वपाले जनाएको छ ।उम्मेदवार छनोट गर्दा लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी लगायतको विधि अवलम्बन गरिने रास्वपाले जनाएको छ । आवेदनका लागि अन्तिम मिति पार्टीको बैठकले निर्णय गर्ने आचार्यले जानकारी गराए ।