जनकपुरधाम - नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मधेशमा मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । कांग्रेससहितका सांसदहरू आज बिहानै कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।
एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका हुन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।
मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूमा क्षति पुर्याएका छन् ।
प्रदेश प्रमुख भण्डारीले आज कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्यलाभको कामना गर्दै बिदाइ गरेका थिए ।
डा. सीके राउतले मधेशलाई स्वायत्त घोषणा गर्ने मौका यही भएको बताएका छन् । डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।