एएफपी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पहिलो पटक मध्य एसियाका सबै पाँच राष्ट्रका नेताहरूलाई ह्वाइट हाउसमा स्वागत गरका छन् । यो बैठक उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसँग छुट्टाछुट्टै शिखर सम्मेलन गरेपछि भएको हो ।
पश्चिमी मुलुकहरूले स्रोतसम्पन्न यस क्षेत्रमा आफ्नो चासो बढाइरहेका बेला मस्कोको युक्रेनमाथिको आक्रमणपछि त्यसको परम्परागत प्रभावक्षेत्रमा प्रश्न उठेका छन् । यसबीच चीन पनि यहाँको एक प्रमुख खेलाडीका रूपमा देखा परिरहेको छ । रात्रिभोजअघि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने,'हामी हाम्रो आर्थिक साझेदारी सुदृढ गर्दैछौँ, सुरक्षा सहयोग विस्तार गर्दैछौँ र आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदैछौँ ।' उनले कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका राष्ट्रपतिहरूसँगको ‘सी ५+१’ शिखर सम्मेलनमा दुर्लभ खनिजहरूको ‘अविश्वसनीय महत्त्व र क्षमता’ को प्रशंसा गरे ।
उहाँले सामाजिक सञ्जालमार्फत उज्बेकिस्तानसँग ‘अविश्वसनीय व्यापारिक तथा आर्थिक सम्झौता’ भएको घोषणा गर्दै तासकन्दले आगामी तीन वर्षमा करिब ३५ अर्ब अमेरिकी डलर र एक दशकमा एक खर्ब डलरभन्दा बढीको लगानी उड्डयन, खनिज, कृषि र सूचना प्रविधि क्षेत्रहरूमा गर्ने घोषणा गरे । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) दुवै यस क्षेत्रका विशाल, तर अझै पनि प्रायः अप्रयुक्त प्राकृतिक स्रोतहरूतर्फ आकर्षित भएका छन् । उनीहरू आफ्नो दुर्लभ पृथ्वीका स्रोतहरू विविधीकरण गर्न र चीनमाथिको निर्भरता घटाउन इच्छुक छन् ।

कजाकिस्तान विश्वकै सबैभन्दा ठूलो युरेनियम उत्पादक हो भने उज्बेकिस्तानसँग विशाल सुन भण्डार छ र तुर्कमेनिस्तान ग्यासमा धनी देश हो । पर्वतीय किर्गिस्तान र ताजिकिस्तानले पनि नयाँ खनिज भण्डारहरू पत्ता लगाइरहेका छन् । यद्यपि कठोर भूभाग र सीमित पूर्वाधारका कारण ती स्रोतहरूको दोहन चुनौतीपूर्ण रहेको छ ।
लगभग युरोपेली सङ्घ (इयु) जत्तिकै ठूलो तर करिब सात करोड ५० लाख जनसङ्ख्या भएको मध्य एसिया भू–आवेष्ठित क्षेत्र हो, जसलाई मरुभूमि र हिमशृङ्खलाहरूले घेरेका छन् । यो उत्तरमा रुस, पूर्वमा चीन र दक्षिणमा इरान तथा अफगानिस्तानबीच अवस्थित रहेको छ ।
राष्ट्रपति ट्रम्पका समकक्षीहरूले पनि उनको प्रशंसा गर्न हिच्किचाएनन्। कजाख राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले भने,'तपाईं महान नेता हुनुहुन्छ, राजनीतिज्ञ हुनुहुन्छ र हामी सबैले मूल्य दिने परम्परागत सोच र सामान्य ज्ञान फर्काउन स्वर्गले पठाउनुभएको हो ।' त्यस्तै, उज्बेकिस्तानका राष्ट्रपति सावकत मिर्जियोयेभले पनि भने,'यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले मध्य एसियालाई तपाईंजस्तो सम्मानका साथ व्यवहार गर्नुभएको थिएन । उज्बेकिस्तानमा हामी तपाईंलाई ‘विश्वका राष्ट्रपति’ भन्छौँ ।'
सन् १९९१ मा सोभियत सङ्घबाट स्वतन्त्रता प्राप्त गरेका यी पाँच देशले अहिले कूटनीतिक रूपमा एक साझा मोर्चा बनाइरहेका छन् । चीनले कजाकिस्तान, किर्गिस्तान र ताजिकिस्तानसँग सीमा साझा गर्दै यहाँ विशाल पूर्वाधार परियोजनाहरूमा लगानी गर्दै आएको छ, जसले त्यसलाई क्षेत्रीय प्रमुख आर्थिक साझेदारका रूपमा स्थापित गरेको छ । यद्यपि, युक्रेनमाथिको आक्रमणपछि मस्कोप्रतिको विश्वास घटेको देखिन्छ ।
यसैबीच, कजाकिस्तानले इजरायल र मुस्लिम राष्ट्रहरूबीचको अब्राहम सम्झौतामा सामेल हुने घोषणा गरेर दिनको सबैभन्दा ठूलो समाचार बनायो । सन् २०२० मा संयुक्त अरब इमिरेट्स, बहराइन, मोरक्को र सुडानले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेका थिए । कजाकिस्तान त्यसपछि सामेल हुने पहिलो देश बन्नेछ । अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले यस कदमले शान्ति पहलमा नयाँ ‘गति र आशा’ ल्याउने बताए ।
तर, अधिकार समूहहरू भने यस क्षेत्रका अधिनायकवादी शासनप्रति ट्रम्प प्रशासनको सौम्यता र मौनतामाथि चिन्तित छन् । ह्युमन राइट्स वाचले विज्ञप्तिमा भनेको छ,'यस बैठकमा सहभागी सबै देशहरूले असहमतिहरूलाई दबाउने, मिडियालाई नियन्त्रण गर्ने र आलोचकहरूमाथि कारबाही गर्ने प्रवृत्ति बढाएका छन् ।' राष्ट्रपति ट्रम्पले भने आर्थिक साझेदारी र सुरक्षा सहयोगलाई प्राथमिकता दिँदै मध्य एसियालाई ‘भविष्यको लागि असाधारण सम्भावनाको केन्द्र’ का रूपमा चित्रण गर] ।