काठमाडौं - संघीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए।
जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारले प्रशासन सुधारको लागि भन्दै संघीय संसद्का पदाधिकारी तथा सांसदले पाउँदै आएको कर्मचारी सुविधा कटौतीको निर्णय गरेपछि संघीय संसद् असन्तुष्ट छ।
कर्मचारी कटौतीलगायको निर्णयपछि संघ र प्रदेशसभाका पदाधिकारीहरू सरकारसँग असन्तुष्ट छन्। यही विषयमा थप छलफलका लागि संघीय संसद् र प्रदेश सभाका पदाधिकारीको संयुक्त बैठक आह्वान गरिएको एक पदाधिकारीले जानकारी दिए।
प्रतिनिधिसभाका सभामुख देवराज रिमाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संसद् सचिवालयका महासचिवलगायतका पदाधिकारीले प्रधानमन्त्रीसँग भेटेरै असन्तुष्टि जनाइसकेका छन्।