काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहितका केही नेताहरुले नेकपा (माओवादी केन्द्र) सहित १० कम्युनिष्ट पार्टीबीच हुने एकता प्रक्रियामा सामेल नहुने बताएकी छिन्।
आज यहाँ पत्रकार सम्मेलन गरी नेत्री झाँक्री र विघटित प्रतिनिधिसभाका सदस्य किसान श्रेष्ठले पार्टीको तर्फबाट एकीकरणका पक्षमा निर्णय भएपनि आफूहरू त्यसमा सहभागी नहुने स्पष्ट गरेकी हुन् । एकता र विभाजनका शर्तहरुमा अगाडि जाने गन्तव्यका बारेमा स्पष्ट सोच हुनुपर्ने तथा सिद्धान्त र कार्यक्रम मिल्नेसँग एकता गर्ने नेत्री झाँक्रीले बताइन् ।
यसैगरी नेता श्रेष्ठले नेकपा (एमाले) ले पुरानै घरमा फर्कन अनुरोध गरिरहेको सन्दर्भमा निशर्तरुपमा एमालेमा फर्कन चाहेको बताए । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका नेता पीताम्बर तिमिल्सनालगायत सहभागी थिए ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत दलहरुबीच आज एकता घोषणा हुन लागेको सन्दर्भमा पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएकी हुन् ।