काठमाडौं - नेकपा एमालेले आगामी मंसिर २७ देखि २९ सम्म हुने ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सात वटा आधारमा छनोट गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै प्रतिनिधि छनोटका सात आधारहरू मातहतका कमिटीहरूमा पठाएका हुन् ।
यसअघि बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मंसिर १३ गते देशैभरि एकै पटक प्रतिनिधि छनौट गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । अध्यक्ष ओलीले हस्ताक्षर गरेर जारी गरिएको पछिल्लो अपानिमा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरण अनिवार्य छ ।
यसैगरी पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरूले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नु पर्ने पनि अपानिमा जनाइएको छ । पदेन प्रतिनिधि रहेका आयोजकहरूले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन नपाउने एमालेले जनाएको छ । बाँकी सबै पार्टी सदस्यहरूले तोकिएको एउटा मात्र क्लस्टरमा सहभागी भएर प्रतिनिधि छनोट गर्ने पाउने एमालेको अपानिमा उल्लेख गरेको छ ।
दलित र श्रमिकको क्लस्टरमा रहेका पार्टी सदस्यहरूको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अगाडी नै सार्वजनिक गर्न एमालेले निर्देशन दिएको छ । यसैगरी जनसंगठनमा रहन चाहने पार्टी सदस्यलाई आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने प्रावधान राखिएको छ । प्रतिनिधि छनौट गर्दा कुनै विवाद वा अस्पष्टता भएमा केन्द्रीय सङ्गठन विभागमा सम्पर्क गर्न भनिएको छ तर विवादका नाममा आवश्यक भन्दा बढी प्रतिनिधि पठाए विभागले त्यसलाई मान्यता नदिने अपानिमा जनाइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानि मातहतका कमिटीहरूमा पुग्ने क्रममा रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । नेता गौतमका अनुसार अपानि प्राप्त गरिसकेपछि त्यसका आधारमा जिल्ला कमिटीहरूले संघीय निर्वाचन क्षेत्र अनुसारका प्रतिनिधि छनौटको व्यवस्था गर्नेछन् ।
महाधिवेशनमा केन्द्रीय सदस्य,केन्द्रीय निकाय,भूगोल र विभिन्न क्लस्टर र मनोनीत सहित २ हजार १ सय २७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । छनौट भएका प्रतिनिधिले फोटो सहित सङ्गठन विभागले पठाएको ढाँचामा विवरण भरेर केन्द्रीय कार्यालयमा पठाउनु पर्ने अपानिमा उल्लेख छ ।