काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको हाे ।
शनिबार कांग्रेसमा १५औं महाधिवेशनको मितिबारे विवादले पदाधिकारी बैठक बसेर सहमतिको प्रयास पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नु पर्ने प्रस्तावसमेत गरेका थिए । कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन् ।
आजका लागि बोलाइएको बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।