झापा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ स्थित सानो माइको पुल भासिएपछि मर्मत नहुँदा आवागमनमा समस्या भएको छ ।  झापा बजार हुँदै कुञ्जिबारी जोड्ने उक्त पुल गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीका कारण भासिएको हाल सम्म पनि निर्माण नहुदाँ समस्या भएको हो । 
एक महिना पुग्न लागिसक्दासमेत पुलको मर्मत भएको छैन । गौरीगञ्जका विद्यानन्द राजवंशीले सदरमुकाम चन्द्रगढी जानका लागि सोही पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको बताए । सवारीसाधन र यात्रु भासिएको पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तीन वर्षअघि  छ करोड रुपैयाँको लागतमा उक्त पुल निर्माण भएको थियो । पुलको लम्बाइ ५४ मिटर रहेको छ । बाढीलाई थेग्न नसकेपछि मध्यभागको पिलर भासिएर पुल बांगिएको छ ।
पुलको मध्य भागमा रहेको जग भासिएपछि यातायात आवतजावतमा रोक लगाइएको हुलाकी सडक आयोजना इटहरीका सूचना अधिकारी उपेन्द्र दासले जानकारी दिए ।  पुल निर्माण भएको तीन वर्ष बितिसक्दासमेत पहुँच मार्ग र रेलिङको कार्य सम्पन्न नभइसकेका कारण निर्माण व्यवसायीले उक्त पुल सरकारलाई हस्तान्तरण गर्न बाँकी थियो ।‘पुलमा तीन वटा जग थियो’, उनले भने,‘नदीमा आएको बाढीले बगाएर ल्याएका रुख पुलमा अड्किँदा लोड थाम्न नसकेर जग भासिएको हो ।’ 
उनले भासिएको पुलको जाँचबुझका लागि पुल महाशाखाका उपनिर्देशक ललितजंग खनालको नेतृत्वमा विशेषज्ञको टोली गठन भइसकेको जानकारी दिए ।   उनका अनुसार टोली दुई तीन दिनभित्रमा झापा आउने र सोको अध्ययन अनुसन्धान गर्ने भएको छ । टोलीले दिएको सुझावअनुसार नै पुलको मर्मतसम्भार गरिने उनको भनाइ छ । तत्काल सवारीसाधन आवागमनका लागि नदीमा डाइभर्सन बनाउने तयारी भइरहेको उनले बताए ।
सहरी विकास, भौतिक योजना तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान सिंहले पुल भासिएलगत्तै अनुगमन गरेर पुलको तत्काल मर्मत गर्न निर्देशन दिएका थिए ।