काठमाडौं– कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण भएको हो ।
सो अवसरमा साहित्यकार ‘रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र मुख्य कुरा भएकाले पाठकलाई अनुभूत तथा द्रवित गराउने क्षमता जसमा हुन्छ ऊ राम्रो कथाकार हुने बताए ।
समालोचक डङ्गोलले कृति सामाजिक यथार्थपरक कथाहरूले भरिएको उल्लेख गर्दै अधिकांश कथाको बुनोट यही समाजका विषयबस्तु रहेका र स्थान विशेष पात्रहरू रहेका कथाहरू सहज तथा स्वाभाविक रहेका बताए ।
समीक्षक सापकोटाले आयामका हिसाबले लघु र मध्यम आयामका १९ कथा रहेको ‘रगतको मूल्य’भित्र सत्यका निकट रहेर लेखिएका कथाहरू रहेको उल्लेख गरिन् ।