काठमाडौं– चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँबराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कूल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोरेको छ ।
पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रुपैयाँको आयात र ५९ अर्ब १२ करोड ८३ लाख रुपैयाँको निर्यात हुँदा एक खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँबराबरको घाटा बेहोरेको छ ।
त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा एक खर्ब चार अर्ब ७०करोड रुपैयाँ छ । चीनबाट एक खर्ब चार अर्ब ८९ करोड रुपैयाँको आयात हुँदा १८ करोड ६४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट चार करोड एक लाख रुपैयाँको आयात हुँदा २८ करोड ९९ लाख रुपैयाँको निर्यात भएको हो । यसरी डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।
पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँ बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ । यो अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।