- स्वतन्त्र जनप्रतिनिधि, वकिल, अभियन्ता, उद्योगी, प्राध्यापक, जेन–जीलगायत नयाँ दलसहित राजनीतिमा आउँदै
- १६ दलले दर्ताको निवेदन दिए पनि निर्वाचन आयोगले दर्ता गर्न बाँकी
- निवेदनसाथ पेस गरिएका कागजातहरूको अध्ययन गर्दे आयोग, प्रक्रिया पूरा गरेका दल दर्ता हुने आयोगको भनाइ
आयोगमा तिहारअघिसम्म १६ वटा दल दर्ताको निवेदन परेका थिए । निवेदनसाथ संलग्न कागजातहरू हामी अध्ययन गरिरहेका छौं । छठलगत्तै प्रक्रिया पुगेका दल दर्ता हुन्छ ।
सुमन घिमिरे
सूचना अधिकारी, निर्वाचन आयोग
काठमाडौं– सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने क्रम बढेको छ । आयोगका अनुसार तिहारअघिसम्म आयोगमा दर्ताका लागि १६ वटा नयाँ दलले निवेदन दिएका छन् ।
स्वतन्त्र जनप्रतिनिधि, वकिल, अभियन्ता, उद्योगी, प्राध्यापक, जेन–जीलगायतले दल दर्ताका लागि चुनाव चिह्नसमेत प्रस्ताव गरेर निवेदन दिएका हुन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म कुनै दल दर्ता भएको छैन । आयोगले हाल दल दर्ताका लागि पेस गरिएका कागजातहरूको जाँचबुझ गरिरहेको उनले बताए । छठलगत्तै भने केही दल दर्ता हुने उनको भनाइ छ ।
‘आयोगमा तिहारअघिसम्म १६ वटा दल दर्ताको निवेदन परेको थियो । निवेदनसाथ संलग्न कागजातहरू हामी अध्ययन गरिरहेका छौं,’ उनले प्रभावसँग भने, ‘अब छठलगत्तै दुई÷चार वटा दल दर्ता हुन्छ ।’ जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएसँगै आगामी २१ फागुनमा चुनावको मिति तोकिएको छ । चुनावमा सहभागी हुन आयोगमा दसैंअघि १० वटा र त्यसपछि बाँकी छ वटा दलले दर्ताका लागि निवेदन दिएका थिए । आयोगले कानुनअनुसार आवश्यक कागजात पेस गरेका दलहरूको दर्ता गर्ने जानकारी दिएको छ ।
दल दर्ताका लागि निवेदन दिनेमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पनि छन् । उनले श्रम संस्कृति पार्टी नामको दल दर्ताका लागि गत ७ असोजमै निवेदन दिएका हुन् । उनको दल दर्ता हुन बाँकी छ । यतिबेला उनी देशका विभिन्न जिल्लामा पार्टी प्रचार अभियानमा छन् ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले ९ असोजमा नेपाल नागरिक पार्टी दर्ताका लागि निवेदन दिए । लामो समयदेखि मूलतः संवैधानिक मुद्दामा बहस गर्दै आएका भण्डारी राजनीतिमा आउने भएका हुन् । त्यसका लागि दल दर्ताको निवेदन दिएकोमा आयोगले दर्ता गरिसकेको छैन । उनी राजतन्त्र र हिन्दूराष्ट्रको कित्तामा उभिने गरेका छन् ।
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले पनि नयाँ दल खोलेका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका डा. दिनेशराज प्रसाईंको नेतृत्वमा उनले दल खोलेका हुन् । तर, उनको पनि दललाई निर्वाचन आयोगले दर्ता गरिसकेको छैन । दलको नाम गतिशील लोकतान्त्रिक पार्टी र चुनाव चिह्न ‘ज्योति’ प्रस्ताव गरिएको छ ।
यस्तै, दल दर्ताका लागि हीराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेन–जी पार्टी नेपालले यही कात्तिक २ गते आयोगमा निवेदन दिएको छ । यो दलले चुनाव चिह्नमा ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ । यसअघि उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायतले पनि दर्ताका लागि निवेदन दिएका थिए । ती दलहरूको पनि दर्ता भइनसकेको आयोगले जानकारी दिएको छ ।
आयोगका सूचना अधिकारी घिमिरेका अनुसार नेपालको संविधान, २०७२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान चाहिन्छ । नियमावली र घोषणापत्र दुई–दुई प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना उल्लेख गर्नुपर्छ । यसबाहेक केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि निवेदनमा खुलाउनुपर्छ ।
विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका प्रत्येक तहका पदाधिकारीको निर्वाचन हुने व्यवस्था, विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलितलगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरूसमेत रहने समावेशी व्यवस्था अवलम्बन गर्ने नीति पनि उल्लेख गर्नुपर्छ । दलको विधानमा दलका सदस्यहरूलाई अनुशासित बनाउने प्रभावकारी व्यवस्था, केन्द्रीय भेलाबाट केन्द्रीय कार्यसमितिको चयन, विधान, झण्डा, लोगो कुन राख्ने चुनाव चिह्न कुन रोज्नेसम्बन्धी निर्णय भएको हुनुपर्ने व्यवस्थाको पनि निश्चितता गरिएको हुनुपर्छ ।
केन्द्रीय पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपि, दर्ताका लागि निवेदन, विधान, नियमावली र घोषणापत्रमा सबै केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षरलगायतका सामग्री पनि संलग्न गरेको हुनुपर्छ । यत्ति भए दल दर्ता हुने आयोगका सूचना अधिकारी घिमिरेले बताए ।