- ८२ हजार ८०० घर निर्माण तथा पुनस्र्थापनाको लागत अनुमान
- भूकम्पबाट क्षतिग्रस्तलाई सबैभन्दा बढी २० अर्ब ८८ करोड रुपैयाँ आवश्यक पर्ने
- मनसुनबाट क्षतिग्रस्तलाई एक अर्ब तीन करोड रुपैयाँ, प्राविधिक सहयोगका लागि २८ करोड रुपैयाँ र जनशक्ति एकाइका लागि पाँच करोड रुपैयाँ आवश्यक पर्ने आकलन
- संकटग्रस्त क्षेत्र घोषणा भएका इलामका सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका, माङ्सेबुङ गाउँपालिका र माईजोगमाई गाउँपालिकालाई अतिप्रभावित क्षेत्रका रुपमा सिफारिस
काठमाडौं– विपद्बाट प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि २२ अर्ब २४ करोड रुपैयाँ आवश्यकता पर्ने आकलन सार्वजनिक भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शुक्रबार बसेको बैठकले उक्त आकलन गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेशप्रसाद भट्टराईले ८२ हजार ८०० घर निर्माण तथा पुनस्र्थापनाको लागत अनुमान गरिएको बैठकमा जानकारी दिए । सोही बैठकमा विपद् व्यवस्थापन कोषको रकम परिचालन गरी विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।
भूकम्पबाट क्षतिग्रस्तलाई २० अर्ब ८८ करोड रुपैयाँ, मनसुनबाट क्षतिग्रस्तलाई एक अर्ब तीन करोड रुपैयाँ, प्राविधिक सहयोगका लागि २८ करोड रुपैयाँ र जनशक्ति एकाइका लागि पाँच करोड रुपैयाँ आवश्यक पर्ने बैठकमा औंल्याइएको छ । पुनर्निर्माणको वित्त व्यवस्थापन तथा निजी आवास पुनर्निर्माणका लागि प्राप्त रकममध्येबाट विपद् व्यवस्थापन कोषमा आर्थिक वर्ष २०८१/८२ मा आम्दानी बाँधिएको दुई अर्ब ८७ करोड ६४ लाख १४ हजार रुपैयाँ रहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार सो रकम १० हजार ५०० परिवारका लागि छुट्याइएको छ ।
यसैबीच, अर्थ मन्त्रालयले १८ हजार ५०० परिवारका लागि पाँच अर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । प्राधिकरणका अनुसार ५३ हजार ८०० घरका लागि १४ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्दछ । समितिको बैठकले आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२ पारित गरेको छ । यस्तै, विपद् जोखिम हस्तान्तरणका लागि विपद् बिमासम्बन्धी छलफल भएको थियो । बैठकले विपद् बिमासम्बन्धी सम्भाव्यता अध्ययन गरी प्रतिवदेन पेस गर्न प्राधिकरणका सहसचिवको संयोजकत्वमा छ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
संकटग्रस्त क्षेत्र घोषणा भएका इलामका सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका, माङ्सेबुङ गाउँपालिका र माईजोगमाई गाउँपालिकालाई अतिप्रभावित क्षेत्र, फाकफोकथुम गाउँपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकालाई मध्यम प्रभावित क्षेत्र तथा चुलाचुली र रोङ गाउँपालिकालाई प्रभावित क्षेत्रका रूपमा मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख भट्टराईले बताए ।
बैठकमा विपद्बाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ संशोधन सम्बन्धमा छलफल भएको थियो । अस्थायी आवास अनुदान प्रक्रियामा लाभग्राहीलाई पहिलो किस्तामा २५ हजार रुपैयाँ र अन्तिम किस्तामा २५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने छ । समयसीमा थप गर्ने सन्दर्भमा अस्थायी आवास निर्माण सम्झौतापछि घटना घटेको मितिले ९० दिनभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।
कार्यकारी समितिको बैठकले ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका वडा नं ३ र ४ मा रहेका ओदक, एकबाँसे र ताम्राङ बस्तीका ६५ परिवारलाई सोही गाउँपालिकाको वडा नं ३ को साँघुमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न नौवटा प्रस्तावित निर्णयमा छलफल भएको थियो । बैठकले प्रस्तावित निर्णय पारित गरेको छ ।
‘यी निर्णयहरू कार्यान्वयन गर्नका लागि योग्य हुनुपर्छ भन्ने जिम्मेवारीपूर्वक हामीले छलफल गरेर पारित गरेका छौं । कार्यकारी समितिका यी निर्णयहरूको पूर्ण कार्यान्वयनका लागि सबैले पहल गर्नेछौं,’ गृहमन्त्री अर्यालले भने, ‘यसलाई कसरी अझ प्रभावकारी ढंगले सम्बोधन गर्ने भन्नेसम्बन्धमा आगामी दिनमा थप छलफल गर्नेछौं ।’