सबैले वर्तमान सरकारलाई निर्वाचनको म्याण्डेट दिएका छन् । यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन ।
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस
काठमाडौं– निर्वाचनको वातावरण नबनेको दलहरुको धारणा आएपछि सरकारले यसबारे छलफल थालेको छ । बिहीबार निर्वाचन आयोगले दलका प्रतिनिधिहरुसँग निर्वाचनबारे छलफल गरेको हो । उक्त छलफलपछि दलका नेताहरुले तत्काल चुनाव गर्ने वातावरण नबनेको दाबी गरेका छन् ।
सत्ता समीकरणमा सँगै रहेका नेपाली कांग्रेस र एमाले भने निर्वाचनबारे दुईतिर उभिएको छ । कांग्रेसले निर्वाचनबाटै संवैधानिक बाटोमा फर्कने भनिरहेको बेला एमाले भने संसद् पुनस्र्थापनामा जोड दिन थालेको देखिन्छ । नेकपा एमालेले भने मनाङमा कात्तिक १७ गतेका लागि तोकिएको निर्वाचन सरकारले गराउन नसकेको कारण देखाउँदै आफूहरु विश्वस्त नभएको तर्क प्रस्तुत गरेको थियो । ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा एमालेको जारी केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हुने स्थिति नभएको बताएका हुन् ।
सरकारले राजनीतिक दलका नेताहरुलाई धाकधम्की दिने, राजनीतिक क्रियाकलाप गर्न नदिने, सीमा बन्देज तोकेकाले निर्वाचनको वातावरण बनेको छैन ।
राजेन्द्र गौतम
प्रचार विभाग प्रमुख, नेकपा एमाले
नेपाली कांग्रेसले भने केन्द्रीय समितिमा सरकारले तोकेको निर्वाचनलाई सफल पार्नुपर्ने विषयले प्रवेश पाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकमा कांग्रेसका नेताहरुले निर्वाचनको विकल्प नभएको बताएका हुन् ।
पार्टीले गुमेको साख निर्वाचनबाटै पुनस्र्थापित गर्नुपर्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बताए । ‘सबैले वर्तमान सरकारलाई निर्वाचनको म्याण्डेट दिएका छन् । यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन,’ कोइरालाले भने, ‘कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर आफ्नो गुमेको वा गुम्दै गएको साख र विश्वास जनताबीच पुनस्र्थापित गर्नुपर्दछ ।’
सरकारले निर्वाचनको वातावरण तयार गर्न भदौ २३ र २४ को प्रदर्शनका क्रममा सु्रक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्नुपर्ने र जेलबाट भागेका कैदीहरुलाई नियन्त्रण गर्नुपर्ने कोइरालाको सुझाव थियो ।यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सम्बोधन गर्दै देशलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका थिए । ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ,’ देउवाले भनेका थिए ।
निर्वाचनका लागि स्टेक होल्डरहरू संवादमा आउनुपर्यो । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्नु भएन ।
ओमप्रकाश अर्याल
गृहमन्त्री
निर्वाचन सरकारकै म्याण्डेड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बिहीबार जेन–जीका प्रतिनिधिहरुसँग छलफल गरे । जेन–जी प्रतिनिधिहरुसँग राष्ट्रपति पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई महायज्ञको रुपमा लिन र सफल पार्न आग्रह गरे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनलाई सामान्यरूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा लिन सुझाएका थिए । ‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन्,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने, ‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । र, युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ ।’
राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे । छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु सहभागी थिए ।
निर्वाचनमा नजाने पक्षमा एमाले
नेकपा एमाले निर्वाचनमा नजाने पक्षमा देखिएको छ । सरकारले निर्वाचनको बेला राजनीतिक दलका नेताहरुलाई झमेला पार्ने र बन्देज गर्ने क्रियाकलाप जारी राखेको एमालेको आरोप छ । ‘हामीले निर्वाचनमा भागै लिँदैनौ भनेका छैनौं । राजनीतिक दलका नेताहरुलाई धाकधम्की दिने, राजनीतिक क्रियाकलाप गर्न नदिने, सीमा बन्देज तोकेकाले निर्वाचनको वातावरण बनेको छैन,’ एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले भने ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पनि दलहरुसँग यसबारे कुनै छलफल नगरेको गौतमले आरोप लगाए । यसअघि एमालेले मोटारसाइकल र्याली आयोजना गरेकोमा सरकारले निषेध गरेको थियो । त्यसैगरी सरकारले एमाले अध्यक्ष ओलीलाई उपत्यकाबाहिर जान निषेध गर्ने निर्णय गरेको थियो । त्यसैगरी सरकारले ओलीको राहदानी रोक्का गर्ने तयारीसमेत गरेको थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले एमालेलाई लक्षित गर्दै केही तत्वहरू निर्वाचन बिथोल्न सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनको माहोल बिगार्न लाग्नेलाई सरकारले सम्झाइबुझाइ गरिरहेको दाबी गरे ।
‘निर्वाचनका लागि सबै संवादमा आउनपर्यो । स्टेक होल्डरहरू संवादमा आउनुपर्यो । सरकारले संवादमा सहजीकरण गर्छ । राष्ट्रपतिज्यूले पनि संवाद सुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादका लागि आह्वान गरिरहेका छौं । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन,’ गृहमन्त्री अर्यालले भने । सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनका लागि बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे ।