- मैले हट्नुपर्छ भनेर फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने । केन्द्रीय समितिले के भन्छ, त्यो मान्ने हो । त्यो महाधिवेशनले देखाउँछ ।
- कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो ।
- हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधिसभा तत्काल पुनस्र्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ ।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्व तत्काल नछाड्ने बताएका छन् । ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले आफूलाई महाधिवेशनमा हराएर देखाउन नेताहरुलाई चुनौती दिए ।
जेन–जी आन्दोलनका कारण भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर सडकमा आइपुगेका ओलीले पार्टी नेतृत्वबाट हट्नुपर्ने भनी फेसबुकमा आएको माग आफूले नमान्ने तर्क गरे । ‘मैले हट्नुपर्छ भनेर फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने । केन्द्रीय कमिटीले के भन्छ, त्यो मान्ने हो । त्यो महाधिवेशनले देखाउँछ,’ ओलीले भने । जेन–जी विद्रोहपछि धेरैले शीर्ष तीन नेताले नेतृत्व छाड्नुपर्ने आवाज चर्किएको छ ।
जेन–जी विद्रोहअघि नै एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतले ओलीले अब नेतृत्व छाड्नुपर्ने सुझाएका थिए । तर ओलीले उक्त प्रस्ताव अस्वीकार गरिरहे । जेन–जी विद्रोह र अरु दलहरुले नेतृत्व परिवर्तनको सुरसार गरेपछि सबैभन्दा पहिले महाधिवेशनको मिति र स्थान तोक्ने नेता बनेका छन् ओली । उनले ११औं महाधिवेशन मंसिरको २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव राखेका छन् । जबकि एमालेको महाधिवेशनको कार्यकाल अझै एक वर्ष बाँकी छ । २०७८ मंसिरमा चितवनको सौराहमा एमालेको १०औं महाधिवेशन भएको थियो ।
ओलीले नेतृत्वबाट बिदा नलिएर महाधिवेशन तोक्नुलाई फेरि नेतृत्वमा आउने चाहना देखाएको एमालेका एक केन्द्रीय सदस्यले बताए । ‘ओली फेरि नेतृत्वमा आउने देखिन्छ । यसको ग्राउण्ड उहाँले गोदावरीको विधान महाधिवेशनमा तयार पारिसक्नुभयो,’ ती केन्द्रीय सदस्यले भने । गोदावरीमा भदौ २२ मा सम्पन्न विधान महाधिवेशनले ओलीलाई अर्को कार्यकालका लागि अध्यक्ष बन्न पाउनेगरी ढोका खुला गरिदिएको थियो । यसअघि दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था विधानमा थियो । उनले आफू अध्यक्ष बन्नकै लागि उक्त प्रावधान विधान महाधिवेशनमार्फत हटाएका थिए ।
संसद् पुन:स्थापना जोड
एमाले अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा अन्तरिम सरकारकी प्रधानमन्त्रीमा सुशीला कार्कीलाई सिफारिस गरेको तर आफ्नो सुझाव बाहिर गएर संविधान बाहिरबाट सरकार गठन भएको दाबी गरेका छन् । ‘संविधानसम्मत निकासका लागि कामचलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले प्रतिनिधिसभा विघटन नगरी सरकार गठनका लागि सिफारिस गरेको थिएँ । तर त्यो सुझाव विपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ । तसर्थ यो सरकार असंवैधानिक छ,’ ओलीले भने ।

यस्तो अवस्थामा प्रतिनिधिसभा तत्काल पुनस्र्थापना हुनुपर्नेमा ओलीले जोड दिएका छन् । ‘हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधिसभा तत्काल पुनस्र्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ,’ ओलीले भनेका छन् ।
उनले कार्की नेतृत्वको सरकारले चुनाव गर्ने छाँट नदेखाएको दाबी गर्दै प्रतिनिधिसभा पुन:स्थापनामा जोड दिएका हुन् । तर केही केन्द्रीय सदस्यले भने चुनावमा लाग्नुपर्ने सुझाव दिएका छन् । चुनावको पक्षमा केन्द्रीय सदस्यहरू विष्णु रिजाल, हरि राई, सोम मिश्रलगायतले धारणा राखेका थिए ।
नेपाली कांग्रेसले चुनावी वातावरण बनेमा संविधानको रक्षा यही बाटोबाट हुने भनिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पनि दलहरुसँग छलफल गरी संविधान जोगाउने विकल्प चुनाव भएको बताइसकेका छन् । एमाले केन्द्रीय कमिटी आज ८ बजे बस्नेगरी स्थगित भएको छ । केन्द्रीय कमिटीमा नेपाली वर्णाणुक्रम ‘ज्ञ’ बाट सुरु गरी अन्तिममा ‘क’ बाट नाम आउनेले बोल्ने कार्यतालिका तय गरिएको छ । पहिलो दिन ५० जनाले धारणा राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
देउवाको प्रशंसा
एमाले केन्द्रीय कमिटीको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले १५ बुँदे राजनीतिक प्रतिवेशन पेस गर्दा नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रशंसा गरे ।
देउवाले मंगलबारमात्र कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । एमाले केन्द्रीय कमिटीमा उनको उक्त कदमको प्रशंसा भएको हो । केन्द्रीय सदस्य विद्या भट्टराईले केन्द्रीय कमिटी बैठकमा बोल्दै देउवालेजस्तै निर्णय गर्न ओलीलाई आग्रह गरिन् । ‘हामीसँग सहकार्य गरेको कांग्रेसले हिजो गरेको निर्णयको समानार्थी हुनेगरी हामीले पनि निर्णय गर्नुपर्छ,’ भट्टराईले भनिन् ।
भट्टराईलेझैं अरु नेताहरुले पनि केन्द्रीय कमिटीमा देउवाको प्रशंसा गरेका थिए । माओवादी केन्द्रले यसअघि कार्यसमिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गरिसकेको छ । माओवादीले मंसिरमा महाधिवेशन गर्ने भने पनि मिति र स्थान तोकेको छैन ।
एमाले अध्यक्ष ओलीले भने आफू यस्तो लहडमा नलाग्ने र सरकारको नेतृत्वमा फेरि पुग्न सक्ने सन्देश दिएका छन् । ‘कतिपयले त मलाई भन्नुहुन्छ । तपाईंलाई बोकेर त जानै सकिँदैन । किन बोक्नुपर्यो म आफैं हिँड्छु । हिँड्न नसक्ने हैन । दौडन सक्ने अवस्थामा छु,’ ओलीले भने ।
ओलीले एमालेले राजनीतिक आर्थिक नायकत्व दिइरहेकोसमेत दाबी गरे । यस्तो अवस्थामा देशलाई एमालेको खाँचो अझै रहेको ओलीको तर्क थियो । ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो । व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो । विश्व बैंकको हालै प्रकाशित तथ्यांकले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कमजोर हुन्छ भन्ने पुष्टि भयो,’ उनले भने ।