- कांग्रेस पदाधिकारी बैठकले तय गर्न सकेन केन्द्रीय समिति बैठकको एजेण्डा
- असोज २८ गते केन्द्रीय समिति बैठक बस्ने
- तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक पनि सर्यो, २९ देखि ३१ असोजसम्म बस्ने
- एमाले बैठक सर्नुको कारण ओलीको राजीनामाको प्रस्ताव !
काठमाडौं- जेन–जी आन्दोलनपछि पहिलोपटक बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन पछाडि सरेको छ । जेन–जी आन्दोलनपछिको अवस्थाबारे धारणा बनाउन आज आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।
केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न भन्दै सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका थिए । तर, उक्त बैठकमा देउवा उपस्थित भएनन् । गत भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा कुटिएपछि उनी सार्वजनिक भएका छैनन् । देउवाको उपस्थितिविनै बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिका लागि एजेण्डा तय गर्न नसकेपछि बैठक सारिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलल भने कार्यसम्पादन समिति बैठक जारी रहेकाले केन्द्रीय समिति पछि सारिएको जानकारी दिए । उनका अनुसार अब केन्द्रीय समिति बैठक यही २८ असोजको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र सातै प्रदेश सभापतिहरू सहभागी हुने छन् ।
जेन–जी आन्दोलनपछिको राजनीतिक परिवर्तनबारे कांग्रेसले संस्थागत धारणा सार्वजनिक गरेको छैन । प्रतिनिधिसभा पुनस्र्थापना कि फागुनमा चुनाव भन्नेबारे कांग्रेसको आधिकारिक धारणा आउन बाँकी छ । यही २४ असोजमा जेन–जी आन्दोलनबाट सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कांग्रेसलाई प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिन आग्रह गरेका छन् । उनले चुनाव नहुने र त्यसको पक्षमा एमाले नभएको बताए ।
कांग्रेस भने यसबारे अनीर्णित छ । बरु, पार्टीमा नेतृत्व परिवर्तनको माग गर्ने संस्थापनइतर पक्षबाट विशेष महाधिवेशनको माग चर्कोगरी उठेको छ । त्यही भएर कार्यसम्पादन समिति बैठकमा पार्टीको नियमित महाधिवेशनबारे सहमति नजुटेको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । उता एमालेको केन्द्रीय कमिटी बैठक पनि दुई दिन पछाडि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार तयारी नपुगेकाले यही २७ असोजमा बस्नेगरी बोलाएको बैठक अब असोजको २९ गतेदेखि ३१ गतेसम्म बस्ने छ ।
तर, एक जना सचिवालय सदस्य अध्यक्ष ओलीको राजीनामाको प्रस्ताव आएपछि बैठक स्थगित गरिएको बताउँछन् । उनका अनुसार ओली राजीनामाको प्रस्तावले रक्षात्मक बनेका छन् । सोही कारण ओलीले सचिवालय बैठक स्थगित गरेका हुन् । यद्यपि, ओली अस्वस्थ भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
गएको २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि एमालेको बहुसंख्यक पदाधिकारी ओलीको राजीनामा मागिरहेका छन् । २३ असोजको बैठकमै उनीहरूले पार्टी पुनर्गठनको प्रस्ताव सचिवालय बैठकमा गरेका थिए, जुन बैठक हाल ओलीको डेरा रहेको गुण्डुमा बसेको थियो । यो बैठकपछि ओली झस्किएका छन् । त्यो सचिवालय बैठकले भने पार्टी पुनर्गठनबारे कुनै निर्णय गरेन । केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्यो । बैठकको एजेण्डा तयार गर्नकै लागि सचिवालय बैठक ओलीले शनिबार आह्वान गरेका थिए । अन्तिममा आफ्नो स्वास्थ्यमा समस्या देखिएको कारण जनाउँदै बैठक स्थगित गरिदिए ।
एक नेताका अनुसार पार्टी पुनर्गठनका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लिखित प्रस्ताव नै पेस गरेकी छन् । उनले अहिले नेतृत्व तहमा रहेका सबैले छाडेर नयाँलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेकी हुन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल र रामबहादुर थापाले पनि पुनर्गठनको प्रस्ताव गरेका छन् । यसको विपक्षमा उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेल उभिएका छन् । उपमहासचिव प्रदीप ज्ञवाली तटस्थ देखिएका छन् ।