- यो सरकार यति असहिष्णु बन्यो कि १९ जेन–जीको ‘ब्लडबाथ’ पछि कुनै सर्तविना सामाजिक सञ्जाल खोल्न तयार भयो । जबकि दर्ताविना फेसबुक, युट्युबलगायत सञ्जाल खोल्दै नखोल्ने अडान थियो ।
- मृतकहरु नेपाली नागरिक नै थिए । ती अल्लारे थिए । तिनलाई सम्झाउन सकिन्थ्यो । बुझाएर पठाउन सकिन्थ्यो । तर देउवा–ओलीको नेतृत्वले नेतृत्व नभएको भीड सम्झेर अन्धधुन्ध गोली वर्षायो ।
- चौतर्फी तारोमा गृहमन्त्री रमेश लेखक परे । उनले नैतिकता देखाउँदै राजीनामा दिइसकेका छन् । तर यसको मुख्य भागीदार देउवा र ओली हुन् । योसँगै अब देशको राजनीतिमा अझै पनि हक जमाएर बस्ने हक यी दुई नेतालाई छैन ।
काठमाडौं– नेपाली कांग्रेसका नेताहरुको भनाइ पत्याउने हो भने माओवादी शान्ति प्रक्रियालाई अन्तिम रुप दिएर नोबेल शान्ति पुरस्कारको दाबी गर्ने तयारीमा थिए कांग्रेस सभापति शेरबहादुर देउवा । यही दौडमा नेकपा एमालेका अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि थिए नै । शान्ति प्रक्रियालाई टुंगोमा लैजानेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टिआरसी) विधेयक पनि प्रमाणीकरण भयो ।
कैयन् आलोचनाकाबीच जीवनको उत्तराद्र्धमा देउवा कांग्रेसमा लोकप्रिय बन्दै थिए । कारण उनको कम बोल्ने बानी, तर अक्कल भएका नेतामा दरिएर । राजनीतिमा यस्तो समय आयो, गठबन्धन नगरी सत्ता वरिपरि घुम्नै नसकिने । घुमिफिरि देउवा एमाले अध्यक्ष ओलीसँग सत्ता सहयात्रा गर्न आइपुगे । ओली जो अत्यधिक आलोचित बनेर राजनीतिमा छाइरहे । एमालेमा एकाधिकार जमाइरहे । उनै ओलीसँग हलबन्दी गरेका देउवाको सपना सोमबार जेन–जी पुस्ताले गरेको प्रदर्शनमा सरकारले जुन किसिमको रवैया अपनायो– यी दुई नेताको नोबल शान्ति सपना धुलिसात भयो ।
जेन–जीको आक्रोश भ्रष्टाचारविरुद्ध थियो । आफन्तवादविरुद्ध थियो । सामाजिक सञ्जालबाट सिर्जित रोजीरोटी खोसिएकोविरुद्धमा थियो । तर सरकारले जेन–जी पुस्ताको आवाजलाई पुरै बेवास्ता गरिदियो । कतिसम्म भने देउवाले सरकारले सामाजिक सञ्जाल बन्द नै नभएको अभिव्यक्ति दिए । विराटनगरमा शनिबार दिएको उनको अभिव्यक्ति यति लज्जास्पद थियो कि, आफूलाई अभिव्यक्ति र लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसका लागि यो लाज पनि लजाउने खालको थियो । जबकि बिहीबारबाट सामाजिक सञ्जाल ठप्प थियो । प्रधानमन्त्री ओलीले गोदावरी पुगेर जेन–जीको आवाजलाई कम आँके ।
प्रधानमन्त्री ओलीको अभिव्यक्ति, देउवाको बोलीले सोमबार बिहानसम्म आगो बनिसकेका थिए । यो पुस्तालाई लिड गर्ने कोही थिएन । उनीहरु ‘लिड’ गर्नेहरुदेखि दिक्क थिए । वाक्क थिए । जसले लिड गर्छ, मौकामा उही नेताको पछि लागेर यस्ता आन्दोलनहरु तुहिने गथ्र्यो । यसैले उनीहरुले कोही नेता छानेनन् । आफैं माइतीघरमा उत्रिए ।
जेन–जी पुस्ता जो १३ देखि २८ वर्ष उमेर समूहका थिए– उनीहरु यो उमेरमा आफैं केही गर्न सक्छु भनेर अघि बढेका हुन्छन् । जसलाई पुरातनवादी सोच मन पर्दैन । अझ दोहो¥याइतेह¥याइ शासनमा आइरहने ‘बेबीबुमर’ पुस्ताको अनुहारले उनीहरु वाक्क थिए । त्यो बेबीबुमर पुस्ता देउवा, ओली नै हुन् । यदि देशको शासनसत्ताको बागडोर देउवा ओलीले नै सम्हालेको हो भने माइतीघरदेखि बानेश्वरसम्म उत्रेका जेन–जी आफ्नै छोराछोरी सम्झनुपर्ने थियो । किनकि उनीहरु नेपाली नागरिक नै थिए । ती अल्लारे थिए । तिनलाई सम्झाउन सकिन्थ्यो । बुझाएर पठाउन सकिन्थ्यो । तर देउवा ओलीको नेतृत्वले लिड नभएको भीड सम्झेर अन्धधुन्ध गोली वर्षायो । यही कारण डेढ दर्जनले अनाहकमा ज्यान गुमाए भने ३०० भन्दा बढी घाइते भए ।
यो सरकार यति असहिष्णु बन्यो कि १९ जना जेन–जीको ‘ब्लडबाथ’ पछि कुनै सर्तविना सामाजिक सञ्जाल खोल्न तयार भयो । जबकि दर्ताविना फेसबुक, युट्युबलगायत सामाजिक सञ्जाल खोल्दै नखोल्ने सर्त थियो । यस्तो पानीमरुवाहरु नेतृत्वमा बसेपछि न त सत्ता बलियो हुन्छ, न त जनताले नै पत्याउँछन् ।सामाजिक सञ्जालको भित्तामा लेखिएको पस्ष्ट कुरा पनि यो सरकारको नेतृत्वमा बस्नेहरुले बुझेन । वा बुझ पचाए । ओलीको दम्भ र प्रधानमन्त्री पर्खिरहेका देउवाको लाचारीपनले युवाहरुको ज्यान गएको छ ।
चौतर्फी तारोमा गृहमन्त्री रमेश लेखक परे । उनले नैतिकता देखाउँदै राजीनामा दिइसकेका छन् । तर यसको मुख्य भागीदार देउवा र ओली हुन् । योसँगै अब देशको राजनीतिमा अझै पनि हक जमाएर बस्ने हक यी दुई नेतालाई छैन । ओली र देउवामात्र हैन, माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीति गर्ने हक पनि यो उदण्डतासँगै सकिएको छ । किनभने सामाजिक सञ्जाल बन्द हुँदा त मौन बसेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले आफ्नो धर्म बिर्सिसकेका छन् ।
सुशासन र संविधान संशोधन गरी जनतालाई रोजगारीको अवसर सिर्जना गराउने ओली–देउवा गठबन्धनको एजेण्डा थियो । यो एजेण्डामा खबरदारी गर्नुभन्दा सत्ताको लोभमा सिंहदरबार ढुकेर बस्नु सिवाय दाहालले पनि केही गर्न सकेनन् । अब जेन–जी पुस्ताले तीन नेताको दाबेदारी स्वीकार गर्दैनन् । अब प्रधानमन्त्री ओलीले तुरुन्तै राजीनामा दिएर राजनीति छाड्ने र देउवाले पनि कांग्रेसको राजनीति छाड्नुपर्छ । दम्भी ओली र देउवाले जुन रक्तपात मच्चाए त्यसको कारबाही पनि भोग्नुपर्छ । दाहालको हकमा राजनीति छाड्नु जायज हुन्छ । यसो गरेमा इतिहास बोकेका पार्टीहरु जीवित रहन सक्छन् । नभए यी पार्टी पनि इतिहासको पानामा सीमित हुने छन् ।