काठमाडौं - पर्यटन व्यवसायी फुर्वा गेल्जे शेर्पा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को नयाँ तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। हिमालयन शेर्पा एडभेन्चरका अध्यक्ष शेर्पाले निर्वतमान अध्यक्ष निमा नुरु शेर्पालाई पछाडि पार्दै नेतृत्व सम्हाल्ने भएका हुन्।
गत भदौ ६ गते (२०२५ अगस्ट २३) कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतदानमा उनले ३४२ मत प्राप्त गर्दै विजयी भएका हुन्।सन् १९७३ नोभेम्बर १ (२०३० कात्तिक १६ गते, बिहीबार) मा स्थापना भएको एनएमए नेपालकै एक मात्र अल्पाइन सङ्घ हो। यसले नेपालको पर्वतीय पर्यटनको दिगो विकास, पर्वतीय वातावरण संरक्षण तथा पर्वतीय समुदायको सांस्कृतिक सम्पदाको संवर्द्धनमा योगदान दिँदै आएको छ। एनएमएले हाल २७ वटा हिमालहरूको अनुमति दिने र रोयल्टी संकलन गर्ने जिम्मेवारी पनि सम्हाल्दै आएको छ।
निर्वाचनमा इस्वरी पौडेल ३४५ मतसहित वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए। कीर्तिमानी आरोही मिङ्मा ग्याबु शेर्पा ३५९ मतसहित प्रथम उपाध्यक्ष र बोधराज भण्डारी ३६८ मतसहित द्वितीय उपाध्यक्ष बने।
राजेन्द्रबहादुर लामा ३१८ मतसहित महासचिव र चन्दन थापा ३५८ मतसहित सचिवमा निर्वाचित भए। कोषाध्यक्ष पदमा सुमी मोक्तान र ङीमा नुर्बु शेर्पाबीच बराबरी (३०४-३०४) भएपछि दुवैले आधा-आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ। मोक्तानले पहिलो १.५ वर्ष र शेर्पाले बाँकी १.५ वर्ष काम गर्नेछन्।
त्यस्तै मुलाल गुरुङ, थुप्देन शेर्पा, डेन्डी शेर्पा, रिन्जे शेर्पा, विक्रम कार्की, केदार न्यौपाने, देवेंद्र डंगोल, गोकुल थापा, माधवकुमार धमला, निशा भोटे र डिकी शेर्पा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए।
पुस्तकधारी श्रेणीबाट दावा टाशी शेर्पा, जेनजेन लामा, दावुटी शेर्पा र सन्देश शेर्पा पनि केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्। पर्यटन विभागका महानिर्देशक सरकारी प्रतिनिधिका रूपमा रहने व्यवस्था अनुसार २७ सदस्यीय एनएमए कार्यसमिति पूरा हुनेछ। नव निर्वाचित पदाधिकारीहरूलाई यही शुक्रबार कार्यभार हस्तान्तरण गर्ने संघले जनाएकाे छ ।