काठमाडौं- प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखेका छन् ।
बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले नेपालको भू-भाग लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने चीन र भारतको सम्झौताको विरोध गरे । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘वैकल्पिक विकास वित्र् परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरे ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरे । उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले पारित भयो ।