काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितहरुको उजुरीका आधारमा काठमाडौं तथा ललितपुर महानगर पालिकाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका २ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका ४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी रहेका छन् । साथै काठमाडौं महानगरपालिका ६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका १ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका ७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् ।
पक्राउ मध्ये सुजनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ, सतेन्द्रले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९० हजार रूपैयाँ, नविनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र राजले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीमा रहेको छ ।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनलाई काठमाडौं महानगरपालिका ३ बाट र सतेन्द्रलाई काठमाडौं महानगरपालिका ३२ बाट सोमबार तथा नविनलाई काठमाडौं महानगरपालिका ९ बाट र राजलाई कागेश्वरी मनोहरा नगरपालिका ८ बाट मंगलबार पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।